मनिषा चम्लागाईँ। झापा,९ असार । पर्याप्त पानी परेका कारण यो वर्ष चैते धान निकै सप्रिएर आएको थियो । किसानले राम्रै उत्पादन हुन्छ भन्ने अनुमान गरेका थिए । झापाको शिवसताक्षी नगरपालिका –८ की गोमा भट्टराई धानको उत्पादन बढ्ने देखेर खुशी थिइन् । भट्टराईले स्थानीय अर्जुन राईको ३ विगाह जग्गा अधियामा लिएर धान खेती गर्दै आएकी छिन् ।
तर, धानको बाला लाग्ने बेलामा धानमा ‘नेक ब्लाष्ट’ नामक रोग देखिएपछि ३ विगाह धान सखाप भएको भट्टराई सुनाउँछिन् । अधियामा जग्गा लिएर ७ जनाको परिवार चलाउँदै आएकी एकल महिला भट्टराईलाई अब बिहानबेलुकाको छाक कसरी टार्ने भन्ने चिन्ता छ । ऋण लिएर धानखेती गरेकी भट्टराईलाई धान लगाउँदा लिएको ऋण कसरी तिर्ने भन्ने पीडा थपिएको छ ।
झापाको शिवसताक्षी नगरपालिकाका किसानले लगाएको चैते धानमा ‘नेक ब्लाष्ट’ रोगको संक्रमण देखा परेपछि यहाँका किसानले २२ विगाहमा लगाइएको धान नष्ट गर्नु परेको शिवसताक्षी नगरपालिका –८का वडाध्यक्ष केयर सिंह बस्नेतले बताए । “म पनि कृषक हँु” बस्नेत भन्छन्, “मैले १० कठ्ठामा चैते धान लगाएको थिँए, धान फल्ने बेलामा ट्याक्टर लगाएर जोत्नु प¥र्यो ।” वडामा २२ विगाह बराबरको धान नष्ट भएकाले क्षतिपूर्ती माग गर्दै कृषकले निवेदन दिएको वडाध्यक्ष बस्नेतले बताए । फूल खेल्ने बेलामा धानको बाला सुकेको बस्नेत बताउँछन् ।
शिवसताक्षी नगरपालिका कृषि शाखाका प्राविधिक सहायक रविन भट्टराईका अनुसार यो रोगले चैत धान बालीमा क्षति पु¥याएको छ । उनले भने, “कृषक मारमा छन्, हामीलाई प्राविधिकको खाँचो छ ।” कृषकले उत्पादन गरेको धानमा लगानी कसरी उठाउने भन्ने जोखिमसमेत रहेको उनी बताउँछन् । धान उत्पादन भए पनि बजारिकरणको समस्या रहेको भट्टराईले जनाए ।
अहिले गुणस्तरीय बिउ, समयमा नै मल उपलब्ध नहुनु, सहजै दक्ष प्राविधिक सेवाको पहुँच नहुँदा समस्या आएको शिवसताक्षी –८ कै चुडामडी शिवाकोटी बताउँछन् । उक्त क्षेत्रमा लगाइएको ७० प्रतिशत धानमा रोग देखापरेको शिवाकोटीले बताए । हिउँदे धानमासमेत यो रोग देखा परेको शिवाकोटीले सुनाए । उनले ५ कठ्ठा क्षेत्रफलमा लगाइएको धानमा डढुवा रोग लागेको बताए ।
शिवाकोटी स्थानीय वडाका वडासदस्य समेत रहेका छन् । “कृषि क्षेत्रमा सरकारले वार्षिक करोडौँ रुपैयाँ लगानी गर्छ, नीति तथा कार्यक्रम बनाउँछन्” शिवाकोटी भन्छन्,“लगानीको सदुपयोग हुन नसक्दा र नीति तथा कार्यक्रमको कार्यन्वयन नहुँदा कृषि क्षेत्रका समस्या जटिल बन्दै गएका छन् ।” “हामी सबैभन्दा तत्तो स्तरका जनप्रतिनिधि हौँ” उनले भने, “हामीसँग प्रत्यक्ष रुपमा नागरिक तथा कृषक सम्पर्कमा हुन्छन् तर नीति बनाउँदा, बजेट ल्याउँदा हाम्रा कुरा सुनुवाइ हुँदैन, कृषकका समस्या त कसरी सुनुवाइ होलान् ।” कृषि क्षेत्रको विकासका लागि ‘सिस्टम’ नै बन्न नसकेको शिवाकोटीको भनाइ छ ।
स्थानीय चित्रप्रसाद शेर्मा १७ कठ्ठामा लगाइएको धान नष्ट भएको बताउँछन् । गत वर्ष उक्त जग्गामा ६३ मन धान उत्पादन गरेका शेर्माले यस वर्ष ३० मन मात्र धान उत्पान भएको बताए । “धान लगाउँदा २५ देखि ३० हजारसम्म खर्च भएको थियो” उनी भन्छन्, “यस वर्ष घाटालाग्यो, करिव एक साताको बीचमा धानमा त्यस्तो रोग देखिएको हो, तत्कालै प्राविधकको अभाव हुँदा कृषक मारमा परेका हुन् ।”

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्