झापा, असार ११ । जनस्तरबाट झापाको कोटिहोमस्थित समर्पण भवनमा स्थापना गर्न लागिएको पिसिआर ल्याब सञ्चालनका लागि प्रदेश सरकारले अनुमति दिएको छ ।

एकका लागि एक अभियानको पूर्ण सहयोगमा स्थापना हुन लागेको ल्याबका विषयमा प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले विशेष चासो देखाएका थिए । मन्त्री घिमिरेले खरिद प्रक्रिया र भन्सार छुटका लागि प्रदेश सरकारले जिम्मेवारी लिने बाचा गरे ।
एकका लागि एक अभियानमार्फत झापामा स्थापना हुन लागेको पिसिआर ल्याबका लागि बुधबार झापाको कनकाईस्थित समर्पण भवनमा मन्त्री घिमिरेसँग महत्वपूर्ण छलफल भएको हो । झापाका राजनीतिक दल, सहकारी अभियन्ता र साझेदार संस्थाबीच मन्त्री घिमिरेले समर्पण भवनमा ल्याब राख्न अनुमति दिए ।
मन्त्री घिमिरेले अभियानले हालसम्म गरेको कामको प्रशंसा गर्दै चाँडोभन्दा चाँडो पिसिआर मेसिन खरिद गर्न अभियान टोलीलाई आग्रह गरेका थिए । उनले एकदुई दिनभित्रै ल्याब राख्ने योजना बनाइएको भवनको मापदण्ड हेर्न र मूल्यांकन गर्न प्राविधिक खटाउने प्रतिबद्धता व्यक्त गरे ।
मन्त्री घिमिरेले झापाको केन्द्रविन्दु भएकाले कोटिहोम क्षेत्र उपयुक्त भएको बताएका थिए । उनले छलफलपछि भवनको निरीक्षण गरेका थिए । उनले ल्याब सञ्चालनका लागि पनि प्रदेश सरकारले महत्वपूर्ण भूमिका निर्वाह गर्ने जिकिर गरे ।
समर्पण भवनमा ल्याब स्थापना र सञ्चालन गर्ने यसअघि नै अभियानको बैठकले निर्णय गरेको थियो । त्यसमा झापामा राजनीतिक दलका प्रमुखहरुले सहमति जनाएका थिए भने मन्त्रीसँगको छलफलमा पनि उनीहरुको एक स्वर रहेको थियो ।
छलफलमा नेकपा झापाका अध्यक्ष चिन्तन पाठक, नेपाली कांग्रेस महासमिति सदस्य देउमान थेवे, झापा उपसभापित राम कट्टेल, राप्रपा झापाका उपाध्यक्ष कमल खरेल, जनता समाजवादी पार्टी झापाका अध्यक्ष अनुत राजवंशीले कनकाईको समर्पण भवनमा ल्याब राख्न पार्टीको प्रतिबद्धता जनाएका थिए ।
कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले ल्याब स्थापनापछि सञ्चालनको व्यवस्थापकीय जिम्मेवारी नगरपालिकाले लिने बताए । उनले त्यसका लागि नगरले २५ लाख रुपैयाँ विनियोजन गरेको र आइपरे थप सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्