बिर्तामोड , असार १४ । झापा बिर्तामोडको युवा सामाजिक व्यक्ति निरज ओलीले लकडाउन समयको घरभाडा छुट गरिदिएका छन् ।

व्यवसायको प्रकृति हरेर सटर र घरभाडा छुट गरिएको उनले बताए । शनिश्चरे रोडमा रहेको उनको घरमा बैंक, फार्मेसी, होटल तथा लज र अन्य व्यवसाय संचालित छ । सधैं चलिरहेकाले आफ्नो घरमा रहेको हिमालय बैंक र झापा फार्मेसीको भाडा छुट नगरिएको निरजले बताए । घरमै संचालित होटल मानसरोवरको चार महिनाको ५० प्रतिशात भाडा छुट गरेको उनले जानकारी दिए । “ चैत, वैशाख, जेठ र असारको ५० प्रतिशत भाडा छुट गरेको हो” उनले भने,“ वीन—वीन सिद्धान्तको आधारमा होटल संचालकले आधा तिर्ने र हामीले आधा छाड्ने सहमति अनुसार यो काम भएको हो ।” होटल नखुले समझदारीमा साउन महिनाको भाडाका विषयमा पनि पुनर्विचार गर्न सकिने निरजको भनाइ छ । उनको घरमा १० वटा सटर भए पनि पसल संचालकले पाँच — पाँच वटा फोडेर दुईवटा बनाएका छन् । ती दुबैको डेढ महिनाको भाडा छुट गरिएको घरधनी निरजले जानकारी दिए । व्यक्तिले घरभाडा छुट दिएपनि बैंकहरुले सरकारले भनेको सेवा समेत हालसम्म नदिएको उनले गुनासो गरे । उनले भने,“ निरन्तर व्यवसाय गर्ने बैंकहरुले दुई प्रतिशत पनि छुट नदिनु व्यवहारिक होइन।” त्यसमा सरोकारवाला निकाय र संचारमाध्यमले चासो देखाउनु पर्ने उनको तर्क छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्