भद्रपुर, असार १६ । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुर नगर समितिले भद्रपुर नगरक्षेत्रका अधिकांस संस्थागत विद्यालयहरूले शिक्षक तथा कर्मचारीहरूको काम गरिसकेको समयको तलब नदिएकोप्रति गम्भीर ध्यानाकर्षण गर्दै नगर सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

युनियन नगर समितिका अध्यक्ष द्रोण अधिकारीको नेतृत्वमा शैक्षिक वर्ष २०७६ सालको चैत्र महिनाको शिक्षक कर्मचारीको पारिश्रमिक रोकेर विद्यालय सञ्चालकहरूले अन्याय गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको ठहर गर्दै भद्रपुर नगर प्रमुखलाई सहमति कार्यान्वयन गराइदिन माग राखी ज्ञापनपत्र बुझाएको हो ।
वर्षभरि काम गरेका शिक्षक कर्मचारीलाई संरक्षण गर्नुपर्ने दायित्व भएका विद्यालय सञ्चालकहरूले काम गरेको समयको पारिश्रमिक रोकेपछि युनियनले चासो र चिन्ता व्यक्त गर्दै जेठ २ गते नगरपालिकामा ज्ञापनपत्र बुझाएको थियो । शिक्षक कर्मचारीका समस्याप्रति चासो राख्दै नगर प्रमुख जीवनकुमार श्रेष्ठको संयोजनमा जेठ ५ गते संस्थागत विद्यालयसम्बद्ध प्याब्सन र एन प्याब्सनबीच जेठ १५ भित्र सबै विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको तलव भुक्तानी गर्ने सहमति भएको थियो तर असार १६ गतेसम्म नगरभित्र रहेका ३३ विद्यालयहरूमध्ये १३ वटा विद्यालयले मात्र पूरा तलव भुक्तानी गरेको पाइएपछि अन्यायमा परेका शिक्षक कर्मचारीलाई न्यायको माग राखेर नगर सरकारसित दास्रो पटक युनियन पुगेको हो ।
ज्ञापनपत्र बुझ्दै नगर प्रमुख श्रेष्ठले बृहद छलफल र अन्तरक्रिया गरी शिक्षक कर्मचारीलाई पारिश्रमिक नदिने कारण खोजी गरी सरकारी सेवा सुविधाबारे निर्णयमा पुग्ने प्रतिबद्धता जनाए । प्रमुख श्रेष्ठले अन्यायमा परेका शिक्षक कर्मचारीको हितमा हुने गरी निर्णयमा पुग्ने समेत प्रतिबद्धता जनाएका छन् ।
संस्थागत विद्यालय शिक्षक युनियन झापाले यही असार १९ गते शुक्रवार १ वजे विर्तामोडको मुक्ति चौकमा प्रदर्शन गर्ने भएको छ ।
संस्थागत विद्यालय सञ्चालकले दिनुपर्ने पारिश्रमिक नदिएपछि भोकमरीमा परिसकेका शिक्षक कर्मचारीका पीडा सरकारले समेत बेवास्ता गरेको ठहर गर्दै संकटको यस घडीमा युनियन सडकमा उत्रने भएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्