भद्रपुर, असार १८ । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापाले सामाजिक न्यायका लागि असार १९ गते विर्तामोडमा गर्न लागेको प्रदर्शनका लागि अन्तिम तयारी पूरा गरेको छ ।

संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीले काम गरिसकेको समयको तलव पाउन नसकेको, सरकारले समेत सुरक्षाका लागि पहल नगरेकोप्रति आक्रोस पोख्दै इस्टु सामाजिक न्यायको माग राखी सडक आन्दोलनमा उत्रेको हो ।
बौद्धिक श्रमिकका रूपमा रहेका संस्थागत विद्यालयका शिक्षक, कर्मचारी, चालक, सहचालक लगायतलाई काम लगाउने अधिकांसले काम गरिसकेको समयको पारिश्रमिक नदिँदा गाँस जुटाउन समस्या उत्पन्न भएको छ भने सामाजिक न्याय र बाँच्न पाउने अधिकार समेतको अपहरण भएपछि अपमान बोध गर्दै शिक्षक कर्मचारी सडकमा आउन बाध्य भएका हुन् ।
आन्दोलन परिचालन समिति झापाको नेतृत्व सम्हालिरहेका इस्टु नेपालका केन्द्रीय सदस्य बालकृष्ण दाहालका अनुसार विर्तामोडमा हुने प्रदर्शनमा एक हजारबढी शिक्षक कर्मचारी सहभागी हुने छन् । १५ वटा स्थानीय तह रहेको झापामा प्रति स्थानीय तहबाट न्यूनतम ५० देखि सयसम्म शिक्षक कर्मचारी आन्दोलनमा आउने निश्चित भइसकेको छ । शान्तिपूर्ण र सामाजिक दुरी कायम गर्दै प्रदर्शन हुने छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्