दमक, असार २० । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा आज गृहनगर झापाको दमकमा पनि प्रदर्शन भएको छ ।

उनलाई पार्टीभित्रबाट नै प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट हटाउने षडयन्त्र भइरहेको भन्दै गृहनगरका पार्टी पंक्तिका युवाहरुले प्रदर्शन गरेका हुन् ।
राजनितिक स्थायित्व र समृद्धिको लक्ष्य लिएको वर्तमान सरकारको विकल्प नभएको भन्दै समर्थकहरुले पार्टी नेतृत्वलाई दवाब दिने उद्देश्यले दमक चौंकमा एक घण्टा लामो प्रदर्शन गरेको युवा संघका जिल्ला अध्यक्ष शंभु भण्डारीले बताए । प्रदर्शनका क्रममा सहभागीहरुले बोल्दै देशको अहिलेको जटिल परिस्थतिमा ओली सरकारको विकल्प नभएको र जनादेशअनुसार पार्टी र सरकारको नेतृत्व गर्न सवैले सहयोग पुर्याउनु पर्ने जोड दिए ।
ओली सरकारको निरन्तरताको माग गर्दै निकालिएको प्रदर्शनपछि संक्षिप्त कोणसभामा युवा संघ झापाका अध्यक्ष भण्डारी र नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष प्रकाश अधिकारीले देशको राष्ट्रियता र सम्बृद्धिको पक्षमा बोल्दा पार्टीभित्रबाट हटाउने चलखेल भएको भन्दै त्यस्ता कार्य अविलम्ब रोक्न नेतृत्वलाई आग्रह समेत गरे । वक्ताहरुले ओलीभन्दा राष्ट्रवादी नेता अरु कोही नभएकाले अबको ५ बर्षसम्म ओलीले नै पार्टी र देशको नेतृत्वले निरन्तरता पाउनु पर्ने जोड दिए । यदि ओलीलाई बलजफ्ती हटाइए आफूहरु जस्तोसुकै आन्दोलन गर्न तयार रहने युवाहरुले चेतावनी समेत दिएका थिए । उनीहरुले ‘आजलाई होईन ,भोलिलाई ५ वर्ष ओलीलाई, भारतीय विस्तारवाद मुर्दावाद, अस्थिरता चाहनेहरु होशियार’ लगायतका नारा लगाउदै चौकमा प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्