झापा, असार २२ । सत्तारुढ नेकपा निकट युवा विद्यार्थी संगठनहरुले पार्टीलाई विभाजनतर्फ नजान सचेत गराएका छन् ।

टुटफुट र विभाजनतर्फ डोहोर्याउने काम भएमा देश र जनताप्रति धोका र सहिदहरुको बलिदानको अपमान हुने भन्दै युवा विद्यार्थी संगठनहरुले पार्टी नेतृत्वलाई सचेत गराएका हुन् । अनेरास्ववियू जिल्ला कमिटी झापाका संयोजक अनिल सुवेदी, सहसंयोजक दुर्गा धमला र राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी झापाका सहसंयोजक दधिराम रिमालले नेतृत्वलाई ज्ञापनपत्र बुझाउँदै पार्टीभित्रको किचलोप्रति आफूहरुको ध्यानाकर्षण भएको जनाएका छन् । उनीहरुले जिल्ला सचिव विजय साम्पाङमार्फत जिल्ला नेतृत्वलाई सो ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा पार्टी भित्रका हरेक विवादका विषयका समाधान पार्टीभित्रै खोज्न र पार्टी एकताका बाँकी कामहरु चाँडो सम्पन्न गर्न आग्रह गरिएको छ ।
‘ विश्वमा देखा परिरहेको मानव विनाशकारी रोग कोभिड– १९ लाई नियन्त्रण गर्न सरकार मार्फत प्रभावकारी उपायहरु अवलम्बन गर्र्दै खस्कदो अर्थतन्त्रबाट मुलुकलाई बचाउन आवश्यक नीति तथा कार्यक्रमहरु तय गर्न नेताहरुलाई अनुरोध गर्दछौं ।’ ज्ञापनपत्रमा भनिएको छ ।पार्टीभित्र हुने छलफल र बहसहरुलाई व्यबस्थितरुपमा सञ्चालन गर्न नसक्दा कम्युनिस्ट आन्दोलनले टुटफुट र विभाजनको सिकार हुनु परेको तथ्यलाई इतिहासले प्रमाणित गरिसकेको भन्दै संगठनहरुले पार्टी एकतालाई बलियो बनाउने किसिमका अभिब्यक्ति दिन र एकापसमा कमरेडेली सम्बन्ध स्थापित गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्