झापा, असार २३ । तीन दिनअघि नचिनिने अवस्थामा फेला परेको शव दुर्गाप्रसाद पोखरेलको हुन सक्ने प्रहरीले जनाएको छ ।

पोखरेल मेचीनगर १५ ज्यामिरगढीका बासिन्दा भएको अनुमान गरिएको छ । मृतकको साथमा भेटिएको मेची आइकेयरको कार्डमा सो नाम र ठेगाना उल्लेख छ । सोही आधारमा शव मेचीनगर १५ ज्यामिरगढीका दुर्गाप्रसाद पोखरेलको हुन सक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए । उनको परिवार भारतको आसाममा रहेको बुझिएको छ । दुर्गाप्रसाद पोखरेल कुनै बेला शिक्षक समेत भएको चर्चामा आएपछि त्यसका आधारमा समेत अनुसन्धान भइरहेको एसपी कोइरालाले बताए । अहिले नै उनी दुर्गाप्रसाद नै हुन् भन्ने यकिन भइनसकेको कोइरालाको भनाइ छ । झापाको मेचीनगर नगरपालिका १२ स्थित प्रगति सामुदायिक वनमा तीन दिनअघि नचिनिने अवस्थामा शव फेला परेको थियो ।
चारआली चौकदेखि करिब एक किलोमिटर पश्चिम उत्तरमा सडेगलेको अवस्थामा फेला परेको शव मेचीनगर क्षेत्रका शिक्षकको हुन सक्ने चर्चा चलेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले केही प्रमाण भेटिए पनि यकिन नहुँदा शवको पहिचानमा समस्या भएको बताए ।
कसैले हत्या गरेर शव त्यहाँ फालेको आशंका गरिएको छ । घटनास्थललाई सिल गरी अनुसन्धान सुरु गरिएकोले तथ्य नजिक पुगिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्