झापा, असार २३। झापाको गौरादह बजार केही दिनका लागि सिल गरिएको छ ।

काठमाडौंमा उपचार गराइरहेकी ६७ वर्षीया एक वृद्धामा कोरोना संक्रमण पुष्टि भएपछि बजार सिल गरिएको नगर प्रमुख रोहित साहले बताए । उनी गौरादह १ की स्थानीयबासी हुन् । सो गौरादह बजार क्षेत्र हो । काठमाडौं पाटन हस्पिटलमा हिजो गरिएको पिसिआर परीक्षणमा ती वृद्धामा कोरोना संक्रमण पुष्टि भएको थियो । गौरादहको पूर्वमा गोल्छा चोकदेखि पश्चिम गौरीया खोला, उत्तर चैतु चोकदेखि दक्षिण कार्की चोकसम्मको क्षेत्र सिल गरिएको हो । त्यहाँ आवत–जावत पूर्ण निषेध गरिएको प्रमुख साहले जानकारी दिए ।ती बृद्धाको सम्पर्कमा धेरै स्थानीय पुगेको र उनीगरुको कन्ट्याक ट्रेसिङ गर्न बजार क्षेत्र सिल गरिएको हो । अहिले गौरादह १ नवदुर्गा पेट्रोल पम्प छेउका स्थानीय, संक्रमित महिलाका परिवार, आफन्तहरूको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिरहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्द श्रेष्ठले जानकारी दिए । समुदायमा कोरोना फैलिएको आशंकामा स्थानीय त्रसित बनेका छन् । घाँटीको समस्या देखिएपछि उनलाई उपचारका लागि बिर्तामोडको बी एन्ड सी हस्पिटल बिर्तामोड लगिएको थियो । त्यहाँ उपचार नभएपछि थप उपचारका लागि काठमाडौं लगिएको हो । बृद्धाको साथमा छोराबुहारी छन् । पाटन अस्पतालले कोरोना परीक्षण नगरी उपचार नगर्ने बताएपछि काठमाडौँमा गरिएको पिसिआर परीक्षणमा उनमा संक्रमण पुष्टि भएको हो ।
उनी बिरामी भएपछि झापाका विभिन्न स्थानबाट आफन्त भेट्न आएका थिए। उनीहरुको पनि पहिचान गर्ने काम भइरहेको प्रमुख साहले बताए । झापामा यसअघि बाह्रदशी, भद्रपुर , बिर्तामोड , कनकाई, दमक र मेची प्रादेशिक अस्पताल आंशिक रुपमा सिल गरी कन्ट्याक ट्रेसिङ गरिएको थियो । झापाको कोरोना हटस्पर्ट मानिएको कचनकवल एकसाता भन्दा बढी सिल गरिएको थियो । कन्ट्याक ट्रेसिङपछि संकलन गरिएको स्वाब परीक्षण गर्दा कसैमा पनि संक्रमण भने देखिएको थिएन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्