मेचीनगर, असार २३ । झापाको मेचीनगरमा ६ जना कोरोना भाइरसको संक्रमणबाट निको भएर घर फर्किएका छन् ।

मेचीनगर नगरपालिकाले शुरुदेखि नै पूर्वीनाकाबाट यसको संक्रमण फैलिन र भित्रिन नदिनका लागि उच्च सतर्कताका साथ विभिन्न काम गरेको थियो ।नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार अहिलेसम्म नगरका विभिन्न वडाका ६ जनाले कोरोनामाथि जीत दर्ता गरेका छन् । उनीहरु सबै निको भएर घर फर्किएका र दैनिक आफ्नो काममा सक्रिय छन् ।शाखा संयोजक शशीकला राईका अनुसार २२ असारसम्ममा नगरपालिका र स्वास्थ्य कार्यालय झापाको स्वास्थ्यकर्मीहरुको टोलीले नगरका विभिन्न सामुदायिक तथा होम क्वारेन्टाइन र होल्डिङ सेन्टरमा बसेका कुल २ हजार ७ सय ६३ जनामा कोरोनाको संक्रमण परीक्षण गरेको थियो । संयोजक राईका अनुसार १ हजार ३ सय ७५ जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गरिएको थियो भने १ हजार ३ सय ८८ जनाको पोलिमिरेस चेन रियाक्सन (पिसिआर)का लागि थ्रोट स्वावको नमूना संकलन गरी प्रदेशमा रहेका १ नम्बर प्रदेश प्रादेशिक प्रयोगशाला विराटनगर तथा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलगायतका प्रयोगशालामा पठाइएको थियो ।
पिसिआर विधिबाट परीक्षण गरिएका कुल १ हजार ३ सय ८८ जनामध्ये ४२ जनाको परिणाम पोजेटिभ आएको थियो । पोजेटिभ आएकालाई उपचारका लागि कोभिड अस्पताल विराटनगर र पूर्वाञ्चल विश्वविद्यालय आइसोलेसन सेन्टर सुन्दरहरैचा गोठगाउँ मोरङमा रेफर गरिएको थियो । ती मध्ये ६ जना निको भएर घर फर्किएको बताइएको छ । यसरी उपचारपछि घर फर्किनेमा होम क्वारेन्टाइनदेखि सामुदायिक क्वारेन्टाइनमा बसेका छन् । कोरोमाथि जीत दर्ता गर्नेहरुमा मेचीनगर १, ३, ४ र ६ का एक÷ एकजना र ५ का दुईजना रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्