बिर्तामोड, असार २३ । शिखर बचत तथा ऋण सहकारी संस्थाले मास्क अनिवार्य लगाउन आग्रह गर्दै सचेतनामुलक प्रदर्शन गरेको छ ।

संस्थाले आज बिर्तामोड नगर परिक्रमा गरी कोरोना भाइरसबाट जोगिन मास्क अनिवार्यरुपमा लगाउन आग्रह गरेको हो ।सचेतनामुलक नारा लेखिएको विभिन्न प्लेकार्ड तथा ब्यानरसहित संस्थाको कार्यालय परिसरबाट सुरु भएको र्यालीले पसल सञ्चालक तथा क्रेताहरुलाई मास्क लगाउन आग्रह गरेको थियो । बजार परिक्रमापछि मुक्तिचोक पश्चिमतर्फ महेन्द्र राजमार्गमा यात्रारत सवारी चालक र यात्रुलाई मास्क लगाउन सुझाव दिइएको छ ।

र्यालीमा सहभागी इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख डिएसपी मुकुन्द रिजालले हिजो मात्र गृह मन्त्रालयले घर बाहिर निस्कँदा अनिवार्य मास्क लगाउन निर्देशन जारी गरेकाले आज सचेत गराइएको बताए । ‘अटेर गरेमा भोलिदेखि कारवाहीको तहमा जानुपर्ने हुन्छ’ डिएसपी रिजालले भने, ‘आज सडकमा नै निस्केर सबैलाई आग्रह गरेका छौं, मास्क नभएकालाई निशुल्क दिएका पनि छौं, भोलिदेखि यो छुट कसैलाई हुने छैन ।’ आयोजक शिखर साकोसका अध्यक्ष दिपेन्द्र राउतले महामारी दिनहुँ बढिरहेको तर लकडाउन दिनप्रतिदिन खुकुलो हुँदै गएकाले सुरक्षाका दृष्टिकोणले मास्कलाई न्यूनतम आवश्यकता ठहर गरी सचेतना बढाउन कार्यक्रम गरिएको बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्