झापा ,असार २६ं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठक आज पुनः बस्दैछ । नौ सदस्यीय सचिवालयले महत्वपूर्ण निर्णयहरु लिन नसकेपछि गत असार ११ गतेदेखि बालुवाटारमा नेकपाको स्थायी कमिटी बैठक बसिरहेको छ । आधा महिनासम्म बैठक बस्दा ४४ सदस्यीय स्थायी कमिटीले पनि कुनै निकास दिन सकेको छैन ।

पार्टी र राष्ट्रको समस्या समाधानका लागि नेकपाको स्थायी कमिटी पनि अयोग्य देखिएको छ । तर, यो अक्षमता घोषणा हुन बाकी छ ।नेकपा स्थायी कमिटीका बहुमत सदस्यहरुको निश्कर्ष के छ भने केपी ओलीबाट प्रधानमन्त्री र अध्यक्ष दुबै चल्न सकेन । अब प्रधानमन्त्री ओलीले पार्टीको निर्णय मान्नैपर्छ । तर, प्रधानमन्त्रीले स्थायी कमिटीका बहुमत सदस्यहरुलाई ठाडै चुनौती दिइरहेका छन् । ‘अध्यक्ष र प्रधानमन्त्री दुबै छाड्दिनँ, कारवाही गर्छौ भने गर’ भन्दै प्रधानमन्त्रीले बहुमतलाई खुल्ला चुनौती दिएका छन् । प्रधानमन्त्री ओली कतिपय बैठकमै उपस्थित भएनन् । बहुमतले प्रधानमन्त्रीलाई हटाउन खोज्ने तर अल्पमतमा रहेका प्रधानमन्त्रीले बहुमतको निर्णय नमान्ने स्थितिकै कारण स्थायी कमिटीको बैठक १४—१५ दिनसम्म निश्कर्षविहीन बनिरहेको छ । ओलीलाई प्रधानमन्त्री वा अध्यक्षबाट हटाइयो भने उनले पार्टी फुटाउने र अध्यादेशमार्फत शासन गर्छन् भन्ने त्रासकै कारण बहुमतवालाहरु अघि बढ्न नसकेको सहजै बुझ्न सकिन्छ । ओलीको राजनीतिक भविष्यका बारेमा आज बस्ने स्थायी समितिको बैठकमा निर्णय हुनसक्ने जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्