मेचीनगर, असार २७ । मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाले चालु आर्थिक वर्ष २०७६÷०७७ को पूर्णखोप सुनिश्चितता तथा दीगोपना कायमसम्बन्धी सञ्चालित कार्यक्रमको प्रतिवेदन सार्वजनिक गरेको छ ।

मेचीनगर नगरपालिका २०७५ असार ७ गते विधिवतरुपमा पूर्णखोप नगरपालिका घोषणा भएको थियो ।एकपटकको घोेषणाले भावी बालबालिका नसमेटिने हँुदा यस्ता कार्यक्रमहरु नियमित नभए औपचारिकतामा मात्र सीमित रही धेरै बालबालिकाहरु विभिन्न खोपबाट बञ्चित हुन सक्ने र अहिले कोरोना भाइरसजस्ता अनेक रोगको महामारीको प्रवल सम्भावना रहने हुँदा खोप कार्यक्रमलाई निरन्तरता दिनुपर्नै शाखा सहसंयोजक तथा स्वास्थ्य अधिकृत रामनारायण यादवले बताए ।स्वास्थ्य संस्थाबाट प्रदान हुने सेवामध्ये खोप एउटा प्राथमिकता प्राप्त कार्यक्रम रहेको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । खोपको माध्यमबाट नेपालमा बाल र मातृ मृत्युदरमा कमी आउनुका साथै विफर रोग उन्मुलन समेत भइसकेको बताउदैं स्वास्थ्य अधिकृत यादवले खोप सेवा प्राप्त गर्नु हरेक बालबालिकाको नैसर्गिक अधिकार र खोप सेवा प्रदान गर्नु स्वास्थ्यकर्मीको जिम्मेवारी भएको उल्लेख गरे ।
कोरोना भाइरसको विश्वव्यापी महामारीले स्वास्थ्य संकटको अवस्थामा पनि ‘खोज र खोप ’ भन्ने नीतिअनुरुप नगरका १५ वटै वडामा स्वास्थ्यकर्मी तथा महिला स्वयम्सेविकाहरु परिचालन गरी कार्य सम्पन्न गरिएको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । खोपको पहुँचदेखि बाहिर रहेका हरेक बालबालिकालाई खोप केन्द्रसम्म पुर्याउनु प्रत्येक अभिभावकको दायित्व रहेको नगरप्रमुख विमल आचार्यले बताए । नगर प्रमुख आचार्यले हरेक वर्ष सञ्चालन हुने दादुरा रुबेला, पोलियोलगायत सवै प्र्रकारका खोप अभियानमा सहभागी हुन आमनगरवासीलाई आग्रह समेत गरे ।
उपप्रमुख मीना पोखरेल उप्रेतीले खोप लगाउन छुटेका हरेक बच्चालाई खोप केन्द्रसम्म लगेर खोप लगाउन आग्र्रह गदैं खोप लिनबाट कुनै पनि बालबालिका छुट्न नहुने धारणा व्यक्त गरिन् । उपप्रमुख उप्रेतीले अहिले बजारमा जसरी खोपका बारेमा नकारात्मक प्रचारहरु आइरहेका छन् त्यसको पछि नलागेर सवैले आफ्ना बालबालिकालाई समयमै खोप केन्द्रमा लगेर खोप लगाउन समेत आग्रह गरिन् । नगरको धुलावारी प्राथमिक स्वास्थ्य केन्द्र, दुवागढी, धाइजन, बाहुनडाँगी, ज्यमिरगढी र काँकरभिट्टा स्वास्थ्य चौकीले खोप सेवा प्रदान गदैं आएक छन् । धुलावारी प्राथमिक स्वास्थ्य केन्द्रबाट शतप्रतिशत बालबालिकाले खोप लिएका छन् भने अन्य स्वास्थ्य संस्थाबाट ‘ड्रप आउट’को संख्या निकै बढी रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्