झापा, असार २७ । म्याग्दीको धवलागिरी, मालिका र रघुगंगा गाउँपालिकामा शुक्रबारको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या २७ जना पुगेको छ ।

प्रहरीका अनुसार बेपत्ता तीनजना जीवितै सम्पर्कमा आएका छन्। चारजना अझै बेपत्ता छन्। धवलागिरी–६ मराङका १८, मालिका–७ बिमका ८ र रघुगंगा–६ ठाडाखानीका १ जनाको शव भेटिएको डीएसपी किरणजंग कुँवरले जानकारी दिए।
उनका अनुसार धवलागिरी–६ मराङ्गका तुलबहादुर क्षेत्री, सुकना लामगादे, आशिस लामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मन सुनार, कमला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली, प्रकाश केसी, हिरा मति जुग्जाली, करिश्मा जुग्जाली, कञ्चन जुग्जाली, गौशरा जुग्जाली, दिमा जुग्जाली, दिप्ती जुग्जाली र दिवान जुग्जालीको मृत्यु भएको छ । त्यस्तै मालिका–७ विमकी विष्णु पौडेल, इच्छा पौडेल, गौदेवी नेपाली, विशेष नेपाली, वीरबहादुर नेपाली, निशा नेपाली, विष्णु नेपाली, सन्दीप नेपालीको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ। लापु खोलाले बगाएर रघुगंगा–६ ठाडाखानीका ५० वर्षीय नलीमान छन्त्यालको मृत्यु भएको थियो। मराङको रिखको पहिरोमा बेपत्ता भएका ४० वर्षीय धनबहादुर जुग्जाली, ३३ वर्षीय रितुकुमारी जुग्जाली, अर्जुन जुग्जाली जीवितै सम्पर्कमा आएका छन्। पहिरोले पुरिएका मालिका–७ बिमकी एलिसा केसी, धवलागिरी–६ कल्लेनीकी जनीमा केसी, सविन पुन र दुखुखोलामा बेपत्ता भएकी मालिका–६ की गीता रोका भेटिएका छैनन्।प्रहरीका अनुसार पहिरोको जोखिममा रहेका धवलागिरी गाउँपालिकाका ५९०, मालिकाका १९६, रघुगंगाका ८५ र बेनी नगरपालिकाका २५ जनालाई सुरक्षित ठाउँमा सारिएको छ। पहिरोमा घाइते भएका १२ जनाको हेलिकप्टरबाट उद्दार गरिएकोमा ७ जनाको बेनी अस्पताल, १ जनाको काठमाडौं र ४ जनाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भैरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्