झापा , असार २९ । हल्दिबारी गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरीले पारित गरेको बजेट, नीति तथा कार्यक्रमलाई कार्यान्वयन गराउनतर्फ नेपाली कांग्रेस लागेको छ ।

असार १० गते सातौ गाउँसभाका क्रममा विवाद भइ गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेनले कार्यक्रम छोडेपछि उपाध्यक्ष गिरीले बजेट नीति तथा कार्यक्रम पारित गरेका थिए । शुरुमा अध्यक्ष लिङदेनलाई साथ दिने कांग्रेस अहिले गिरीपट्टि लागेको हो । राप्रपाका लिङदेन र कांग्रेसले जलथल जंगलको बाटोलाई केशव कन्दङवा मार्ग र नेकपा एमालेका गिरीसहितले द्रोणाचार्य मार्ग नामाकरण गरिनु पर्छ भन्ने राखेको अडानकै कारण गाउँसभामा विवाद भएको हो । आफ्नो अनुपस्थितिमा सो बजेट प्रमाणीकरण हुन नसक्ने अध्यक्ष लिङदेनले बताउँदै आएका छन् । बजेटको प्रमाणीकरण र कार्यान्वयनमा प्रश्न उटिरहेका बेला नेपाली कांग्रेस हल्दिबारी गाउँ समितिले आज एक प्रेस विज्ञप्ति जारी गरी विधि र प्रक्रियाबाट गाउँसभा भएको भन्दै गाउँसभाका निर्णयहरु कार्यान्वयन गराउन सबैलाई अपिल गरेको छ । गाउँ सभापति दिलिप मावोले विज्ञप्ति जारी गरी सबै राजनीतिक दल र सरोकारवालाबीच एकता नभइ विकास संभव नभएको भन्दै त्यसलाई आत्मसात गर्न आग्रह गरेका छन् । केही दिनअघि नेकपा र नेपाली कांगे्रसबीच गाउँसभाका निर्णय कार्यान्वयन गराउने सहमति भएको थियो । अध्यक्ष लिङदेनले बाहिरिएपछि कांग्रेसबाट निर्वाचित वडाध्यक्ष होम चुडालले पनि सो गाउँसभा बहिष्कार गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्