विराटनगर , साउन २ । मोरङका उद्योगी व्यापारीहरुले कोभिड १९का कारण धरासायी उद्योग व्यवसायहरुको पुनरउत्थानका लागि नेपाल राष्ट्र बैंकबाट कर्जा भुक्तानीका लागि समय दिइएतापनि बैंक तथा वित्तीय संस्थाले कर्जा असुलीलाई कडाई गरिएकोमा आपत्ति जनाएका छन् ।

उनीहरुले आफूहरुको खाताबाट विना जानकारी रकम स्वतः डेविट गरिएको, २ प्रतिशत व्याज छुटको व्यवस्था कार्यान्वयन नभएको, कर्जा नविकरण शुल्क मनोमानी रुपमा लिइएको लगायतका विषयहरुमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । मोरंग व्यापार संघ, उद्योग संगठन मोरङ र विराट व्यापार संघले एक प्रेस विज्ञप्ति जारी गरी उद्योगी व्यवसायीहरुलाई हतोत्साहित पार्ने गरी बैंकहरुबाट भएका यस प्रकारका गतिविधिहरुलाई समयमै नियमन गर्न नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकलाई आग्रह गरेका छन् ।ती संगठनहरुले जारी लकडाउनका कारण उद्योग व्यवसाय ठप्प रहेकोले बैंक तथा वित्तीय संस्थाको कर्जा भुक्तानी एवं कर तथा राजस्व भुक्तानी गर्न कठिनाई भइरहेको हुँदा कर्जा तथा कर आदि भुक्तानीको समयावधिलाई लकडाउन पूर्णरुपमा खुलेपश्चात् तीन महिना थप गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्