बिर्तामोड , साउन २। चैत ११ गतदेखि शुरु भएको लकडाउनले माहौल सुनसान बनायो । कोरोना भाइरसको महामारीको डरले मानिसहरु घरभित्र लुकेर बसेका थिए । तर, बिर्तामोड नगरपालिका वडा नं ३ का वडाध्यक्ष भोजराज सिटौला अरु जनप्रतिनिधिजस्तो चुप लागेर घरभित्र बसेनन् , आफ्ना वडाका वडावासीहरुको पिरमर्का बुझ्न घरघरमा पुगिरहे ।

सामुहिक खाना खुवाउने कार्यक्रममा सहभागी भोजराज

लगातारको लामो लकडाउनका कारण आफ्नो वडाभित्र परेको समस्याप्रति गंभीर देखिए । वडाबासीहरु रोग र भोकको समस्यामा जुधिरहेको उनले टुलुटुलु हेर्न नसकी जोखिम मोलेरै लागिपरे । बिर्तामोड नगरपालिकाभरिमा सबैभन्दा बढी विपन्नहरु वडा नं ३ मा रहेका छन् । वडा नं ३ का २९ वटा टोलमध्ये ६ वटामा सुकुम्बासी छन् । पहिलो चरणमा निकालिएको तथ्यांकअनुसार नगरपालिकाको दशवटा वडाका ६ हजार ९३० विपन्न परिवारमध्ये ९९९ वडा नं ३ का हुन् । त्यसपछि दोस्रो चरणमा २५८ परिवार थपिएर वडा नं ३ मा मात्र विपन्न परिवारको संख्या १ हजार २५७ परिवार पुग्यो । कोरोना भाइरस रोकथाम तथा राहत व्यवस्थापन नगरस्तरीय समितिको सचिवालयमा रहेका भोजराजले नगरको राहत संकलन र वितरणमा सक्रिय भएर सहभागिता जनाए । त्योसँगै लकडाउनको तीन सातापछि नगरपालिकाले बाँडेको ४ केजी चामल सकिएर भोको पर्न लागेका वडाबासीका लागि उनी चिन्तित देखिए । कोरोना महामारी रोकथाम तथा राहत व्यवस्थापनका लागि गठित वडास्तरीय समितिसँग समन्वय गरेर २९ वटै टोललाई मिलाएर केन्द्र पर्ने पाँच ठाउँमा खाना खुवाउनका लागि दाताहरुलाई आग्रह गरे । भोको पेटलाई सहयोग गर्न दाताहरु तयार भए । जसको सहयोगबाट वडाध्यक्ष भोजराजले १८ दिनसम्म ३० हजारभन्दा बढी भोको पेटलाई खाना खुवाएर सन्तुष्टि दिलाए ।

खाना वितरण गर्दै भोजराज

त्यसअघि लकडाउन शुरु भएपछिको केही दिनमै कोरोना महामारीबाट वडाबासीलाई बचाउनका लागि वडाध्यक्ष भोजराज आफै माइकिङमा लागेका थिए । अटोेमा चढेर दुई दिनसम्म माइकिङ गर्दै सचेतना जगाउने काम गरे । अभरमा परेका ब्यक्तिलाई गन्तब्यसम्म पुर्याइदिने, नाका बन्द भएको बेला काँकरभिट्टा पुगेर औषधी ल्याइदिने, ग्यास नहुने परिवारका लागि आफैले बोकेर ग्यास ल्याइदिनेजस्ता सहयोग गर्न समेत उनी पछि हटेनन् । ‘मैले लकडाउनमा अप्ठ्यारोमा परेका मानिसहरुलाई इलामको फिक्कल , मोरङको आमतोला,दमकसम्म पुर्याएर सहयोग गरेँ ’ उनले संझदै भने, ‘आफ्नो मोटरसाइकलमा किरियापुत्री पनि बोकेको छु ।’नेपालका मात्र नभएर नेपालभित्र अलपत्र परेका भारतका नागरिकहरुलाई पनि उनले उद्धार गरेका छन् । आँखाको उपचार गराउन आउँदा अलपत्र परेका ६० भन्दा बढी भारतीयलाई सहयोग गरी भारत पठाएको उनले जनाए ।

अलपत्र भारतीय नागरिकलाई उद्धार गरी भारत पठाइदै

वडाध्यक्षसँगै नेपाली कांग्रेस बिर्तामोड नगरसभापतिको जिम्मेवारी पूरा गर्नुपर्ने दायित्व उनीमा थियो । उनको नेतृत्वमा कार्यकर्ताहरुको सहयोगमा बिर्तामोड नगरपालिकाको राहत कोषमा पार्टीका तर्फबाट ३ लाख ५७ हजार रुपैयाँ हस्तान्तरण गरियो । यसरी वडाबासी र नगरबासीका लागि मरिमेट्दा उनको लागि जोखिमसँगै कष्टपूर्ण पनि रह्यो । कोरोनाको महामारीमा जोखिम मोलेर रातदिन खटिँदा उनी र उनको परिवारले अनेकन समस्या र पिर खेप्नु पर्यो । विवाह गरेको २५ वर्षमा पहिलोपल्ट उनी र उनकी श्रीमती अन्जना डाँगीबीच सम्बन्ध असामान्य बन्यो । करिव दुई महिनाजति आफूहरुबीचको सम्बन्ध अप्ठ्यारोमा परेको वडाध्यक्ष भोजराज संझन्छन् । कोरोना संक्रमणको त्रासका कारण श्रीमती दुई महिनाजति नजिक नआएको उनी बताउँछन् । ‘म बेलुकातिर फर्किन्थेँ खाना छोपेर राखेको हुन्थ्यो ’उनले भने,‘खाना खान्थेँ अनि जुठो भाडा आफै पखालेर राख्थेँ ।’आफ्नो लुगा आफै धोएका सिटौलाको सुताइ पनि अलग्गै रह्यो । ५४ वर्षे उमेर पुगेका भोजराजको जीवनमा कहिल्यै नभुल्ने घटना कोरोनाले गरायो । उनी दःुख मान्दै भन्छन्‘ ८० वर्षिया सासुआमा उपचार गराउनका लागि मेरो घरमा आएर बस्नु भएको थियो, मेरै कारणले उहाँ उपचार नगरी आफ्नो घर चन्द्रगढी फर्किनुुभयो ।’ घरपरिवार र आफन्त मात्र नभएर आफ्नो छेउमा कोही पनि साथीभाइ आउन नमानेको उनको भोगाइ छ । उनी भन्छन्, ‘ मेरा बुवाआमाले पनि मूल घरमा नआउन भन्नुभयो, यहाँसम्म कि एउटै फ्लाटमा बस्ने बहालवालाहरु पनि तर्किएर हिड्थे ।’ बाहिर रातदिन हिडिरहँदा उनको स्वास्थ्य सुरक्षाप्रति घरपरिवार चिन्तित देखिएका हुन् । यद्यपि आफूले मास्क ,सेनिटाइजरजस्ता सावधानी अपनाएर हिडेको उनी बताउँछन् । भोजराजकी श्रीमती अन्जनाले जनप्रतिनिधि भनेको जनताको सेवक हो भन्दै जनसेवा गर्नेक्रममा घरपरिवारमा पर्न गएको अप्ठ्यारोलाई आफूले सहजरुपमा लिएको बताइन् ।‘ घरमा केही दिन तनाव भयो होला ’उनले भनिन्,‘ त्योभन्दा ठूलो कुरा उहाँले वडाबासीको दुःखमा साथ दिनुभयो ।’ वडाध्यक्ष भोजराजका बुवा पूर्वसांसद डिल्लीप्रसाद सिटौला हुन् । उनले भोजराजले वडाध्यक्ष र पार्टी सभापति दुवैको जिम्मेवारी निर्वाह गरेको बताए । आफूहरुले मूल घरमा आउन नदिएको होइन, बृद्ध बुवाआमालाई संक्रमणको खतरा हुन्छ भनेर उनी आफै नआएको डिल्लीप्रसादले बताए । निस्फिक्री हिडिरहँदा घरपरिवारसँगै आफूले पनि पटकपटक सजग गराएको नेपाल रेडक्रस सोसाइटी बिर्तामोडका सभापति सजेश शिवोकोटी बताउँछन् । कोरोना महामारीविरुद्ध लाग्न वडाको सिंगो टीमले साथ दिएको भन्दै वडाध्यक्ष भोजराजले सबैलाई धन्यवाद दिए । लकडाउनको असहज परिस्थितिमा पनि सामाजिक सुरक्षा भत्ता वितरण गरी सेवाग्राहीहरुको सेवा सुविधामा निरन्तरता दिएको वडा सचिव भीम अधिकारी बताउँछन् । भोजराजले २०३६ सालदेखि राजनीति थालेका हुन् । तीनपटक वडाध्यक्ष जितेका उनी खासगरी तल्लो तहका मानिसबीच लोकप्रिय मानिन्छन् ।नेपाल बक्सिङ संघका निर्वाचित केन्द्रीय उपाध्यक्ष रहेका भोजराज खेल क्षेत्रमा पनि उतिकै सक्रिय छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्