बिर्तामोड । मेची उद्योग वाणिज्य संघ मेचीनगरले सदस्यको दुर्घटना वा प्राकृतिक मृत्युवरण भएमा १ लाख रुपैयाँसम्म प्रदान गर्नेगरी आफ्नै कोषबाट बिमा लागू गरेको छ । उक्त बिमा साउन १ गतेदेखि लागू भएको मेची उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।


बिमाको सदस्य बन्न पहिलोपल्ट एक हजार रुपैयाँ र त्यसपछिका वर्षहरुमा वर्षेनी दुई सय रुपैयाँ शुल्क बुझाउनु पर्ने मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषि तिम्सिनाले बताए । नयाँ सदस्यको हकमा २०७८ सालदेखि सदस्य बन्नेले सुरुमा एक हजार पाँच सय रुपैयाँ शुल्क बुझाउनु पर्नेछ ।
बिमा योजना सञ्चालनका लागि तत्काल २० लाख रुपैयाँको व्यावसायिक सदस्य बिमा कोष खडा गरिएको संघका महासचिव रबी नेपालले बताए । कोषमा संघले आफ्नोतर्फबाट १० लाख र मेचीनगर नगरपालिकाको तर्फबाट १० लाख जम्मा गरिएको हो ।


“बिमा कोषमा आवद्ध सदस्यको मृत्यु भएमा अधिकतम् १ लाख र सदस्यले इच्छाएको दुई जना व्यक्तिको मृत्यु भएमा प्रति व्यक्ति २५ हजार रुपैयाँसम्म राहत उपलब्ध गराइने छ” अध्यक्ष तिम्सिनाले भने । कोषलाई बढाएर १ करोड रुपैयाँ पु¥याउने लक्ष्य राखिएको संघका कार्यकारी अधिकृत गोपाल बस्नेत बताउँछन् । कोष सञ्चालनका लागि अध्यक्ष तिम्सिनाको संयोजकत्वमा वरिष्ठ उपाध्यक्ष निरौला सहसंयोजक रहेको ७ सदस्यीय सञ्चालक समिति गठन गरिएको छ । संघले कोभिड १९ को महामारीका कारण परेका असरका कारण सदस्यको नवीकरण शुल्कमा ५० प्रतिशत छुट दिइने जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्