गौरादह, साउन २ । झापाको गौरादह नगरपालिका ३ नं वडा कार्यालयले आफ्नै भवनबाट सेवा दिन सुरु गरेको छ ।

धोबिनियामा आफ्नो कार्यालय भवन निर्माण गरी नयाँ कार्यालयबाट सेवा दिन सुरु गरिएको वडाध्यक्ष गजेन्द्र घिमिरेले बताए । नवनिर्मित वडा कार्यालय भवनको शुक्रबार एक कार्यक्रमका बीच संविधानसभा सदस्य दिपक कार्की र गौरादह नगरपालिकाका नगर प्रमुख रोहितकुमार शाहले संयुक्तरुपमा उद्घाटन गरे ।
२०७५ साल चैतमा शिलान्यास गरिएको वडा नं ३ को नवनिर्मित एकतले भवनमा एक सभाहल, प्रशासनिक कक्षसहित ७ कोठा रहेको छ । भवन निर्माणका लागि गौरादह नगरपालिकाबाट ८६ लाख र प्रदेश नं १ प्रदेश सरकारबाट २५ लाखसहित कुल १ करोड ११ लाख ३० हजार रुपैयाँ खर्च भएको वडाध्यक्ष घिमिरेले जानकारी दिए ।
वडा कार्यालय भवन निर्माण गर्न स्थानीय उमानाथ सिग्देलका परिवारले ३ कठ्ठा १० धुर,बिष्णु राईले २ कठ्ठा र लिला कार्कीले १० धुर जग्गा निशुल्क उपलब्ध गराएको वडा सचिव भावना आचार्यले जानकारी दिईन् । त्यस अवसरमा जग्गादाताहरु सिग्देल परिवारसहित ६ जना दातालाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । यसअघि वडाको आफ्नो भवन नहुँदा ३ नै वडाले भाडाको घरबाट सेवा दिदै आएको थियो । गौरादहका वडा नं १, ५, ६, ७, ९ को आफ्नो भवन भएपनि वडा नं २,३,४,८ को कार्यालय भने भाडाको घरमा रहेको छ ।
कार्यक्रममा गौरादह नगरपालिका उपप्रमुख गीता भेट्वाल, गौरादह नगरपालिका नगर प्रबक्ता समेत रहेका वडाध्यक्ष नगेन्द्र भण्डारी, पूर्व गाविस अध्यक्ष चिरञ्जीवी दाहाल, गौरादह नगरका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्