झापा, साउन ४ । सीमा बन्दका बावजुद झापाको सिमावर्ती क्षेत्रमा भारतीय किसानहरुले नै रोपाइँ गरेका छन् ।

फाइल तस्वीर

कोरोना भाइरसको महामारीले गर्दा नेपाल—भारत सीमा बन्द भएपछि भारतीय किसानहरु भारत फर्किएका थिए । उनीहरुले फलाएको मकै नेपालका जनप्रतिनिधिहरुले सीमासम्म पुर्याइदिएर सहयोग गरेका थिए । अधिकांश भारतीय किसानहरु भारत फर्केपनि केही किसानहरु अझै नेपालमा रहिरहेका छन् । तिनै किसानहरुले यस वर्ष सिमावर्ती क्षेत्रमा रोपाइँ गरेका हुन् । ‘नेपालमा रहेका भारतीय किसानहरुले नै नेपाली जग्गाधनीको जग्गामा रोपाइँ गरेको सिमावर्ती गौरीगञ्ज गाउँपालिकाका वडा सदस्य राजभक्त सुनुवारले बताए । उनका अनुसार गौरीगञ्ज १ मा करिव ५० विगाहा जग्गामा भारतीय किसानहरुले खेती गरेको वर्षौ भयो । भारत नफर्किएका ८ परिवारले ती जग्गा कमाउन थालेको सुनुवारले जानकारी दिए । कतिपय भारतीयहरु लुकिछिपि सीमा पार गरेर खेतीका लागि नेपाल आउने गरेको बताइएको छ । यसअघि हिउँदमा झापाको सिमावर्ती क्षेत्रमा भारतीयहरुले ठूलो क्षेत्रफलमा मकै बाली लगाएका थिए । बाली उठाउनका लागि भारतीयहरुले सीमा पार गरेर आउन खोज्दा विभिन्न अप्रिय घटना भएपछि जनप्रतिनिधिहरुले उनीहरुले कमाएको जग्गाको आम्दानी सीमासम्म लगेर बुझाएका थिए । भारतसंग सीमा जोडिएका जिल्लाका सबै पालिकाहरुको सयौं विगाहा जग्गामा भारतीयहरुले वर्षौदेखि खेती गर्दै आएका छन् । सिमावर्ती क्षेत्रका प्रायः धेरै जग्गाधनीहरु भारतीयहरुलाई अधिया र ठेक्कामा जग्गा कमाउन दिएर वैदेशिक रोजगारीमा गएको गौरीगञ्ज १ का वडाध्यक्ष कार्तिकलाल राजवंशी बताउँछन् । जग्गाधनीहरुसंग धेरै जग्गा भएका कारणले गर्दा पनि भारतीयहरुलाई कमाउन दिनुपर्ने बाध्यता रहेको उनी सुनाउँछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्