झापा ।

फाइल फोटो

१. बैशाख १९ गते कचनकवल गाउँपालिका ४ को खुट्टामनिमा सीमा पार गरेर नेपाल छिर्न खोज्ने भारतीय नागरिक र जनपद प्रहरीबीच झडप भयो । दशगजामा रहेको १२० नं पिलरको सुरक्षार्थ खटिएका जनपद प्रहरीको भारतीयहरुसँग झडप भएको होे ।
२. वैशाख २३ मा दक्षिणी सीमावर्ती झापा गाउँपालिका —४ को जंगे पिलर १३१ नम्वर आसपासमा भारतीय समूहले नेपाली सुरक्षाकर्मीमाथि अन्धाधुन्ध आक्रमण गर्यो। सशस्त्र प्रहरीले प्रतिकारमा २ राउण्ड हवाइ फायर गर्यो।
३.जेठ ३ गते बेलुका कचनकवल गाउँपालिका–१ घेराबारीस्थित सुरिभिट्टा—झण्टुबस्ती नजिकै रहेको सशस्त्र प्रहरीको पोस्टमा भारतीय नागरिकले आक्रमण गरे । आक्रमणबाट बच्न सशस्त्र प्रहरीले त्यसबेला एक राउन्ड हवाई फायर गरेको थियो
४.जेठ ९ मा कचनकवल गाउँपालिका– १ घेराबारीस्थित समरभिट्टा बस्तीदेखि पूर्व रहेको १२२ नम्बरको सीमा पिलर नजिकै भारतीय नागरिकले आक्रमण गरी एकजना सशस्त्र प्रहरी हवल्दारलाई घाइते बनाए । घाइते हुनेमा सशस्त्र प्रहरी हवल्दार शंकर चौधरी रहेका थिए ।
५. पछिल्लो पटक साउन ३ गते राति गौरीगञ्ज ५ स्थित नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय तस्करहरुबीच झडप भएको छ । १५२ नम्बरको पिलरपूर्व मल्हाटोली नजिकै झडप हुँदा
स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले ४ राउण्ड हवाइ फायर गर्यो

कोरोना भाइरसको महामारीका कारण जारी लकडाउनले गर्दा नेपाल–भारत सीमा बन्द हुँदा आक्रोशित भारतीयहरुले हालसम्म झापामा पाँचौ पटक आक्रमण गरेका हुन् । पहिलोपटक बैशाख १९ गते भारतीयहरुले आक्रमण गरेका थिए भने पछिल्लोपटक शनिबार राति आक्रमण भएको छ । पछिल्लोपटक गौरीगञ्ज ५ स्थित नेपाल– भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय तस्करहरुबीच झडप भएको हो । १५२ नम्बरको पिलरपूर्व मल्हाटोली नजिकै झडप हँुदा स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले ४ राउण्ड हवाइ फायर गरेको थियो । सामान वारीपारी गर्न पाउनु पर्ने भन्दै राति करिब ५० जनाको समुहमा हातहतियारसहित आएको भारतीयहरुको समुहले सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको कन्ट्रोल टोलीमाथि हातपात गरेपछि स्थिति नियन्त्रणमा लिन गोली चलाइएको सशस्त्र प्रहरी बल खजुरगाछीले जनाएको छ । झडपका क्रममा सशस्त्रका दुई जवान सामान्य घाइते भएको र भारतीयतर्फको क्षतिबारे थाहा नभएको सशस्त्र प्रहरीले जनाएको छ । हवाइ फायरपछि तितरबितर भएका भारतीयहरु भारततर्फ भागेको सशस्त्र प्रहरी बल खजुरगाछीका प्रहरी निरीक्षक साइमन श्रेष्ठले जनाएका छन् । घटनापछि आइतबार भारतीय सीमा सुरुक्षा बल एसएसबीका कमाण्डरले आफ्ना नागरिकका तर्फबाट गलत भएको भन्दै फेरि त्यस्तो घटना नदोहोर्याउने प्रतिबद्धता जनाएको सशस्त्रका प्रहरी उपरीक्षक रमेश थक्सूले बताए । गौरीगञ्ज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठसहितको टोलीले घटनास्थल र सीमा क्षेत्रको अनुगमन गरेको थियो । नेपाल–भारत सीमामा तैनाथ नेपाली सुरक्षाकर्मीमाथि भारतीयहरुले पटकपटक आक्रमण गर्दै आएका छन् । प्रत्येक घटनापछि अब आइन्दा गल्ती नगर्ने भन्दै माफी मागेका भारतीयहरुले लगातार एकपछि अर्को गर्दै गरेको यो पाँचौ हर्कत हो । यसअघि पनि त्यसरी नै उनीहरुले माफी मागेको सशस्त्र प्रहरी उपरीक्षक थक्सूले बताए । कचनकवलका घटनामा पनि त्यसरी नै माफी मागेको र फेरि यस्तो घटना नदोहोरिने भारतीय पक्षले प्रतिबद्धता जनाएको वडाध्यक्ष विजय राजवंशीले स्मरण गरे । ‘गल्ती गर्ने अनि माफी माग्दै फेरि त्यही हर्कत देखाउने भारतीयमाथि बिश्वास गर्न नसकिने भयो’ उनले भने ।
भारतसँग सीमा जोडिएको झापामा मात्र यो समस्या होइन, अन्य सिमावर्ती जिल्लामा पनि यस्ता घटना दोहोरिरहेका छन् । जेठ ३० मा सर्लाही जिल्लास्थित नेपाल—भारत सीमामा गोली चल्दा एक भारतीय नागरिकको मृत्यु भएको थियो । घटनामा दुई भारतीय नागरिक र तीन नेपाली प्रहरी घाइते भएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्