झापा , साउन ५ । लगातार वर्षाका कारण कनकाई नदीमा आएको बाढी बाँध फुटाएर मानव बस्तीमा प्रवेश गरेको छ । झापा गाउँपालिका वडा नं २ मा कनकाई नदीको बाढीले जनताको तटबन्ध भत्काएर मानव वस्तीमा प्रवेश गरेको हो ।

बाढीले राजघाट भन्ने स्थानमा करिव ३ सय मिटर बाँध भत्काएको हो । बाँध केही दिन अघि नै भत्केको भएपनि नदीमा बहाव बढेपछि भेल बस्तीमा छिरेको हो । बाढीको भेल लक्ष्मीमार्गदेखि पश्चिम सडकबारी बस्तीमा छिरेको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले बताए ।सडकवाडी बस्तीमा माई नदीको पानी घरघरभित्र छिर्न थालिसकेको छ । ‘कनकाईको भंगालो सडकबारी बस्तीमा पुगिसक्यो’ अध्यक्ष शाहले भने,‘ राति वर्षा भयो भने अझ धेरै क्षति हुन्छ ।’ सडकबारी वस्तीमा करिव ६० परिवार रहेका छन् ।

त्योसँगै मिलनवस्ती, सालमारा, सितुमारी, लसुनगञ्ज बस्ती पनि जोखिममा परेको स्थानीय शिक्षक लोचन यादवले बताए । उनका अनुसार भारी वर्षा भए ती वस्तीका ३ सयदेखि ५ सय घर जोखिममा पर्नेछन् । बाढी पस्नेबित्तिकै उनीहरुलाई उद्धार गर्नेगरी तयारीमा बसेको अध्यक्ष शाहले बताए । बस्तीमा पानी पसे उनीहरुलाई स्थानीय लक्ष्मी प्रावि र सितुमारी प्राविमा ल्याएर राख्ने तयारी गरिएको छ । उद्धारको लागि प्रहरी पनि तैनाथ राखिएको अध्यक्ष शाहले जानकारी दिए । उद्धारको लागि सशस्त्र प्रहरी तयारी अबस्थामा रहेको सशस्त्र बेस क्याम्पका प्रहरी निरीक्षक सचिन श्रेष्ठलाई उद्धृत गर्दै शिक्षक यादवले जानकारी दिए ।

कनकाई माई नदीमा आएको वाढीले बाँध कटान गरेपछि सडकवारीको बाटो पश्चिमी भेगको गाउँ , मिलनवस्ती , सालमारा र लसुनगंज समेत डुवान हुने सम्भावना देखिएको बरतलाल राजवंशीले बताए ।उनले सवैभन्दा धेरै क्षतिको सम्भावना मिलनवस्तीमा हुने भएकोले त्यहाँ सुरक्षा निकायको टोली रातिदेखि नै उद्दारको लागि खटिएको जनाए । त्यस्तै नेपाल रेडक्रस सोसाइटी झापा शाखाले पनि एक टोली त्यसतर्फ पठाएको छ । कनकाई नदीले बाँध फुटाएको खबर पाएपछि रेडक्रसको टोली त्यसतर्फ पठाइएको झापा शाखाका सभापति लोकराज ढकालले बताएका छन् । बाढीले करिव ४ सय विगाह धान खेत डुबाएको जनाइएको छ । कटान गरिएको ठाउँमा अहिले पानीको वहावलाई नियन्त्रण गर्न सम्भव नभएकोले सतर्कता अपनाउन झापा गाउँपालिकाले अनुरोध गरेको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखा शरणामतीका निवर्तमान उपसभापति जगन्नाथ राजवंशीले माईको बाढीले सालमारा, मिलनवस्ती र लसुनगञ्जलाई चपेटामा पार्ने सम्भावना अत्यन्त प्रवल देखिएकोले त्यस क्षेत्रमा वसोवास गर्ने सम्पूर्ण वासीहरुलाई सजग रहन अनुरोध गरिएको बताए । साथै सरकारी तथा गैर सरकारी संघसंस्थाहरुलाई विपद व्यवस्थापन तथा जोखिम न्यूनीकरण सहयोग आव्हान गरिएको उनले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्