बिर्तामोड, साउन ६ । ‘एकका लागि एक’ अभियानले मंगलबार शिवसताक्षीका अतिविपन्न परिवारलाई खाद्य सामग्री वितरण गरेको छ ।

विपन्नलाई खाद्यान्न सहयोग उपलब्ध गराउँदै आएको अभियानले वडा नम्बर ८ लालझोडाका अतिविपन्न तथा सुकुमबासी ३१ परिवारलाई खाद्यान्न वितरण गरेको हो । एक परिवारलाई भने नगद पाँच हजार रुपैयाँ प्रदान गरिएको थियो ।
स्थानीय महिला अगुवा शोभा राई पौडेलको संयोजनमा भएको खाद्यान्न वितरण कार्यक्रममा लालझोडाका दैनिक ज्यालादारी गर्ने परिवारलाई अभियानको तर्फबाट खाद्य सामग्री वितरण गरिएको हो । हातखुट्टा नचल्ने स्थानीय प्रेमबहादुर राना मगरको परिवारलाई नगद प्रदान गरिएको थियो ।
अभियानका सदस्य गजेन्द्रबहादुर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा ती परिवारलाई २५ किलो चामल, २ किलो दाल, २ किलो नुन, १ लिटर खाने तेल, साबुनलगायतका आवश्यक सामग्री वितरण गरिएको थियो । नगद पाँच हजार भने स्थानीय युवा राजु राईको तर्फबाट प्रदान गरिएको हो । युनिकम नेपालका दक्षिण कोरिया संयोजक रहेका राई ‘कोरियामा लालझोडाका लागि नेपाली’ अभियानका संयोजक हुन् । एकका लागि एक अभियानलाई समेत उनले २१ हजार रुपैयाँ सहयोग गरिसकेका छन् । उनकै पहलमा दक्षिण कोरियामा रहेका युनिकम नेपालका पूर्वसदस्यहरूबाट पिसिआर ल्याब स्थापनाका लागि एक लाख रुपैयाँ सहयोग संकलन भएको छ । कार्यक्रमको अभियानका सदस्य केशव भट्टराई र हिमाल खरेलले सहजीकरण गरेका थिए । अभियानले यसअघि झन्डै ३ हजार परिवारलाई खाद्यान्न वितरण गरिसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्