झापा, साउन ६ । झापाका दुईजना सशस्त्र प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।

पूर्वी नाका काँकडभिट्टामा रहेको हाल्डिङ सेन्टरमा कार्यरत सशस्त्र प्रहरीका दुईजना जवानलाई आज कोरोना पुष्टि भएको हो । दुवै मेचीनगर नगरपालिका ६ स्थित सशस्त्र प्रहरी बेस क्याम्प काँकडभिट्टाका हुन् । संक्रमित २१ वर्षका र २७ वर्षका रहेका छन् ।कोरोना संक्रमण लिएर विदेशबाट फर्किने ब्यक्तिहरुसँगको सम्पर्कबाट उनीहरुमा कोरोना सरेको हुनसक्ने आशंका गरिएको छ । विदेशबाट फर्किएर होल्डिङ सेन्टरमा बसेका ब्यक्तिहरुसँगै सुरक्षामा खटिने सुरक्षाकर्मीहरुको नमूना परीक्षण गर्दा ती दुई जना सशस्त्र प्रहरीमा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागार्इंले बताए । संक्रमितहरुलाई कोभिड हस्पिटल गोठगाउँ पठाउने तयारी गरिएको छ । त्यसबारे आफूलाई भर्खरै जानकारी आएको सशस्त्र प्रहरीका उपरीक्षक रेशमकुमार थक्सूले बताए । ती संक्रमित जवानको सम्पर्कमा आएका अन्य ४० जना सशस्त्र प्रहरीलाई कन्ट्याक्ट ट्रेसिङ गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए । संक्रमितबाट अन्यमा कोरोना सरेको झापामा पहिलो पटक हो । आज दुईजना थपिएसँगै झापामा कोरोना संक्रमितको संख्या ३१८ पुगेको छ । त्यसमध्ये २९८ जना निको भएर डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्