बिर्तामोड, साउन ६ । विर्तामोड ५ स्थित लिवर्टी अंग्रेजी माध्यमिक विद्यालयले बन्दाबन्दीको समयमा विद्यालयमा कार्यरत शिक्षक कर्मचारी निस्काशन गरेको छ ।

सरकारको निर्देशन तथा कम्पनी ऐनविपरित विद्यालयका संस्थापकप्रिन्सिपल पुरन विष्टले मौखिक आदेश दिएर विद्यालयमा कार्यरत ३ जनालाई निस्काशन गरेको पाइएको हो ।
संस्थापक विष्टले विद्यालय स्थापनाकालदेखि कार्यरत वेदनिधि रिमाल, ४ वर्षयता कार्यरत सीता कार्की र २ वर्षयता कार्यरत मञ्जु कोइरालालाई विनाकारण निस्काशन गरेको पीडितहरूले संस्थागत विद्यालय युनियन, बिर्तामोड नगरपालिका तथा जिल्ला कार्य समितिमा दिएको उजुरीमा उल्लेख छ । ती शिक्षक शिक्षिकाहरूको उजुरीअनुसार हरेक वर्ष विनाकारण शिक्षक निस्काशन गर्दै आएको सो विद्यालयका सञ्चालकले महिला शिक्षिकामाथि अभद्र व्यवहार तथा यौन दुव्र्यवहार प्रयास समेत गर्ने गरेका छन् ।
कक्षा १० सम्म सञ्चालनमा रहेको सो विद्यालयमा गैर नेपाली नागरिकलाई समेत शिक्षणमा लगाउने गरेको पाइएको छ । कम्पनी ऐनअनुसार सञ्चालनमा रहेको विद्यालयले १३ वर्षदेखि काम लगाएका शिक्षक कर्मचारीलाई समेत नियुक्ति पत्र लगायत न्यूनतम सेवा सुविधा नदिइ काम लगाएर शोषण गर्ने गरेको पाइएको छ । शिक्षक वेदनिधि रिमालले शैक्षिक वर्ष २०६४ मा स्थापना भएदेखि निरन्तर शिक्षण सेवा दिइरहेको बताउँदै यस वर्षको शैक्षिक सत्र सुरू हुन नपाउँदै अब विद्यालयमा नआउनु भनेर फोन मार्फत मौखिक आदेश दिएपछि आफू मानसिक रूपमा प्रताडित भएको सुनाए । शिक्षक रिमालले आफ्नो उर्वर उमेर झुप्रे विद्यालयको स्तर उन्नतिमा लगाएको स्मरण गर्दै आज ५ तले बिल्डिङ भएपछि विनाकारण रित्तो हात लखेट्दा अन्यायमा परेको दुखेसो पोखे ।
४ वर्ष अगाडि विद्यालयमा पढाउन बोलाउँदा राम्रो सेवा सुविधासहित भविस्यको समेत प्रबन्ध गरिदिने वचन दिएका संस्थापक विष्टले संकटको यस घडीमा दिनुपर्ने पारिश्रमिक समेत नदिइ निस्काशनको जानकारी गराउँदा छाँगाबाट झरेझैं भएको पीडा शिक्षिका सीताले सुनाइन् । घरमा रहेका लालाबालालाई समेत समय कम दिएर विद्यालयको उन्नतिका लागि रगत पसिना बगाएकी सीतालाई विद्यालय सञ्चालकले भैसी गोठालो शैलीमा निस्काशन गरेकोमा खप्न नसक्ने अपमान बोध भएको बताइन् ।
२ वर्षयता शिक्षण गरिरहेकी मञ्जुले गएको शैक्षिक वर्षको साउनमा एपेण्डिक्स भएर अप्रेसन गर्नु परेको थियो । सोही बेला १८ दिन विद्यालय आउन नसकेकी मञ्जुसित रिस पोख्दै सञ्चालक विष्टले यस शैक्षिक वर्षबाट विनाकारण निस्काशन गरेका रहेछन् । मञ्जु भन्छिन् — निजी विद्यालयमा कार्यरत शिक्षक कर्मचारी फलामले बनिएका हुनु पर्ने हो कि कसो ? विरामी पर्दा विदा नपाउने ।शिक्षक निस्काशनका बारेमा प्रश्न गर्दा संस्थापकप्रिन्सिपल विष्ट राख्ने निकाल्ने आफ्नो अधिकार भन्दै ऐन नियमको परिधिले नछुने बताउँछन् । उनले कोही १३ वर्षदेखि काम गरुन् कि २ वर्षदेखि, कक्षा कोठामा निदाउने, मोवाइल चलाउने काम गरेकाले सजायस्वरूप निस्काशन गरेको तर्क गर्छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्