भद्रपुर, साउन ७ । नेपाल उद्योग वाणिज्य महासंघको महाधिवेशन नजिकिँदै जाँदा देशभरि चुनावी चहलपहल देखिन थालेको छ ।

यसैक्रममा, झापा उद्योग वाणिज्य संघले महासंघको आसन्न निर्वाचनमा खुलातर्फको केन्द्रीय सदस्य पदको उम्मेदवारीका लागि संघका पूर्व अध्यक्ष उमेश डालमियाको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।यसैगरी, महासंघको संस्थापक सदस्यको हैसियतले प्राप्त हुने संस्थापकतर्फको केन्द्रीय सदस्य पदका लागि संघका पूर्व अध्यक्ष राजेन्द्रकुमार घिमिरेलाई पठाउने निर्णय पनि संघले गरेको छ । संघको सभाहलमा अध्यक्ष नवराज पनेरुको अध्यक्षतामा बुधबार सम्पन्न नियमित मासिक बैठकमा ती नाम सिफारिस गर्न कार्यसमितिले सर्वसम्मत निर्णय गरेको महासचिव पंकज शर्माले जानकारी दिए ।
उद्योग वाणिज्य क्षेत्रमा लामो समयदेखि सफल नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका डालमिया महासंघको वर्तमान कार्यसमितिमा केन्द्रीय सदस्यको जिम्मेवारीमै छन् । गत निर्वाचनमा खुलातर्फको केन्द्रीय सदस्य पदमा उनी सर्वाधिक मत ल्याएर विजयी बनेका थिए । यस्तै, संस्थापकतर्फको केन्द्रीय सदस्य पदका लागि सिफारिस गरिएका घिमिरे दुई कार्यकाल झापा उद्योग वाणिज्य संघको नेतृत्व सफलतार्पूक निर्वाह गरिसकेका उद्यमी हुन् । बैठकले यही साउन २६ र २७ गतेलाई काठमाडौंमा हुने तय भएको महासंघको महाधिवेशनमा प्रतिनिधिका रुपमा अध्यक्ष नवराज पनेरु र विशिष्ट सदस्य अजय साहेवालालाई पठाउने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्