बिर्तामोड, साउन ७ । नेपाली कांग्रेसका संस्थापक नेता महामानव वी.पी कोइरालाको ३८ औं स्मृति दिवसको अवसर पारेर आज झापाको बिर्तामोडमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली कांग्रेस क्षेत्र नं २ प्रदेश ‘क’ समितिको आयोजनामा भएको कार्यक्रममा ३८ जनाले रगत दान गरेको नेविसंघ झापाका अध्यक्ष राजेन्द्र उप्रेतीले बताए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडको प्राविधिक सहयोग रहेको थियो । बीपीको तस्वीरमा माल्यार्पण गरी शुरु गरिएको कार्यक्रममा देश र जनताका लागि बीपीले पुर्याएको योगदानको चर्चा गरिएको थियो । वि. सं १९७१ भदौ २४ गते जन्मेका कोइराला वि.सं. २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए । तत्कालीन राजा महेन्द्रले प्रजातन्त्रमाथि ‘कू’ गर्दै कोइरालालाई प्रधानमन्त्री पदबाट अपदस्त गरेपछि प्रजातान्त्रिक आन्दोलनका लागि वी.पी.ले जेल, नेल र निर्वासनसम्मको कठोर यातनासहित जीवनभर संघर्ष गर्नुपरेको थियो । क्यान्सर रोगका कारण उनको २०३९ साल साउन ६ गते निधन भएको थियो ।


प्रदेश समितिका सभापति धर्म लक्सम्बाको अध्यक्षता र संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पूर्व साँसद डिल्लीप्रसाद सिटौला , जिल्ला सभापति उद्धव थापा, नगर सभापति भोजराज सिटौलालगायतले बोलेका थिए । कार्यक्रमको संचालन लक्ष्मी आचार्यले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्