झापा, साउन ८ । झापामा एकैदिन डुबेर एक बालकसहित तीनजनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् ।

प्रतिकात्मक तस्वीर

हिजो राति ८ बजेको समयमा भद्रपुर नगरपालिका २ बस्ने अनिल तामाङका १० बर्षिय छोरा अंकुश तामाङ सोही ठाउँको नयाँ सिमसार क्षेत्रमा डुबिरहेको अबस्थामा फेला परेका थिए । दिउँसो २ बजेतिर घरबाट खेल्न निस्केकोमा हालसम्म घर नफर्किएकाले खोजी गर्नेक्रममा सिमसार क्षेत्रमा डुबिरहेको अबस्थामा फेला पारिएको थियो । उनीसंगै खेल्न गएका सोही ठाउँका कमला थामीका छोराहरु १४ वर्षका करण थामी र उनका भाइ १२ वर्षका अर्जुन थामी बेपत्ता भएका छन् । राति २ बजेसम्म खोजी गर्दा उनीहरु नभेटिएको सीमा प्रहरी चौकी पृथ्वीनगरले जनाएको छ । आज बिहानदेखि पुनः खोजी शुरु गरिएको जनाइएको छ । त्यस्तै हिजो साँझ.५.३० बजे दमक नगरपालिका २ स्थित रतुवा खोलाको किनारमा इलाम चुलाचुली गाउँपालिका ५ बस्ने ४५ वर्षिय राम केरुङ मृत फेला परेका छन् । खोलाले बगाएर ल्याएको घोप्टो परेको अवस्थामा उनको लाश फेला परेको थियो । हिजो बिहान दमक बजारबाट घर फर्कने क्रममा रतुवा खोला तर्दा उनलाई बगाएको थियो ।त्यस्तै हिजो साँझ ७ बजे झापा गाउँपालिका ६ झाक्री चक्रमारी बस्ने ६५ वर्षिया हरिमाया सार्की घरपूर्व रहेको बाँसघारीमा मृत फेला परेकी छन् । निगुरो टिपेर फर्कने क्रममा बिगतदेखि लागेको छारे रोगले च्यापेपछि खेतको आलीबाट लडेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जनाएका छन् । यस वर्ष वर्षायाम शुरु भएयता पानीमा डुबेर जिल्लामा मृत्यु हुनेको संख्या १२ पुगेको छ भने दुई जना बेपत्ता रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्