झापा , साउन १० । शनिबार साँझ संयुक्तरुपमा राजीनामा दिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताले नेपाली कांग्रेस प्रवेश गर्ने तयारी गरेका छन्।

यही साता कांग्रेस प्रवेश गर्नेगरी तयारी भइरहेको राप्रपा छोडेका नेता किरण गिरीले जानकारी दिए। नेता गिरीले कांग्रेस प्रवेश गर्ने विषयमा लामो समयदेखि छलफल भइरहेको स्वीकार गरेका छन्। कांग्रेसका एक नेताले मंगलबार नै राप्रपा छोडेका नेतालाई पार्टीमा स्वागत गर्ने बताए। ‘राप्रपाबाट राजीनामा दिएका नेताहरु मंगलबार कांग्रेस प्रवेश गर्नुहुन्छ’, कांग्रेसका ती नेताले भने, ‘पार्टी कार्यालयमा विशेष कार्यक्रम गरेर स्वागत गर्छौँ।’ यता राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले भने पार्टीका संस्थापक अध्यक्ष सूर्यबहादुर थापाका छोराले आफ्नै बुवाले स्थापना गरेको पार्टी छोडेर गम्भीर भूल गरेको बताए। उनले पार्टीले राष्ट्रवादी शक्ति निर्माणको पहल गरिरहेको र त्यसमा असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्ने बताए। ‘यो सन्दर्भमा पार्टीमा छलफल हुन्छ । उहाँहरुले ठूलो राजनीतिक भूल गर्नुभएको छ। देशमा राष्ट्रवादी शक्ति निर्माणका लागि हाम्रो पार्टी लागि परेको छ’, नेता श्रेष्ठले भने, ‘राष्ट्रवादी शक्ति निर्माणका निम्ति असन्तुष्ट पक्षलाई पनि समेटेर अघि बढ्छौँ।’ शनिबार पार्टीका तीन अध्यक्षलाई संयुक्त राजीनामा पत्र लेख्दै राप्रपाका नेताहरुले संयुक्त राजीनामा दिएका हुन्। ३१ नेताले राजीनामा दिएको बताइए पनि राजीनामा पत्रमा भने १९ नेताको मात्र नाम समेटिएको छ। संयुक्त राजीनामा पत्रमा पार्टीका संस्थापक अध्यक्ष सूर्यबहादुर थापाको निधनपछि पार्टीले सवल नेतृत्व, सैद्धान्तिक र वैचारिक मान्यता गुमाएको आरोप लगाइएको छ। स्वार्थ र परिस्थिति अनुकुल विचार सिद्धान्त र दृष्टिकोण परिवर्तन हुँदा राप्रपाप्रति आमरुपमा विश्वास समाप्त भएको उनीहरुको भनाइ छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्