रिसवराज निरौला,
पोखरा साउन १३ । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङ्गे (राजीव गुरुङ) ले आफूले गण्डकी प्रदेशको अर्थ तथा विकास समितिबाट राजीनामा दिनुको कारण स्पष्ट पारेका छन् ।

सांसद कुमार खड्का संयोजक रहेको अर्थ तथा लेखा समितिले एक साताअघि सांसद गुरुङसंग राजीनामा दिनुको कारणबारे स्पष्टिकरण सोधेको थियो । लेखा समिति गण्डकी प्रदेशका अध्यक्षलाई संवोधन गर्दै उनले त्यसैको जवाफमा स्पष्टिकरण पेस गरेका हुन् ।
सांसद गुरुङले लेखेका छन्, ‘प्रदेशसभा नियमावली, २०७४ अन्तर्गत नियम १४६ अनुरुप कार्यक्षेत्राधिकार अनुसार काम नभएकोले नियमावलीको नियम १५० को उपनियम ३ (ग) अनुसार अर्थ तथा विकास समिति गण्डकी प्रदेशबाट राजीनामा दिएको हुँ ।’ साथै सांसद गुरुङले राजीनामा विभिन्न ५ कारण पनि उल्लेख गरेका छन् । उनले गण्डकी प्रदेशभित्र सञ्चालित क्रसर उद्योगहरु मापदण्डविपरीत रहेको र समितिबाट उपयुक्त छानविन एवं कार्वाही नभएको, प्रदेश सरकारबाट विनियोजित विभिन्न योजनाहरुको काम गुणात्मक भए–नभएको छानविन नएकाले राजीनामा दिएको उल्लेख गरेका छन् ।
यसैगरी गण्डकी प्रदेशभित्र खेलकूद क्षेत्रमा अनियमितता भइरहेको तर समितिले कुनै चासो नलिएको, प्रदेशको सामाजिक तथा शिक्षा मन्त्रालयबाट विनियोजित रकम रद्ध भएको पनि स्पष्टिकरणमा सांसद गुरुङले उल्लेख गरेका छन् । यस्तै प्रदेश सरकारबाट मनाङ निर्वाचन क्षेत्र (ख) मा विनियोजित दुई योजनामा भ्याट विल पूरै लिएको तर रकम कटाएर दिएकाले आफूले राजीनामा दिएको उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्