झापा , साउन १३ । नेपाल विद्यार्थी संघ झापाले सरकार र सर्वोच्च अदालतको निर्णयविरुद्ध जिल्लाका विभिन्न स्थानमा विरोध प्रदर्शन गरेको छ ।

धुलाबारीको प्रदर्शन

दुईतिहाई बहुमतको कम्युनिष्ट नेतृत्वको सरकारले न्यायालयलाई आफ्नो प्रभावमा राखेको र हत्याआरोप स्वीकार गरिसकेका रञ्जन कोइरालालाई उन्मुक्ति दिएर न्यायिक पद्धतिलाई नै कमजोर बनाएको भन्दै त्यसको विरोधमा नेपाल विद्यार्थी संघ झापाले मंगलबार बिर्तामोड, धुलाबारी , बुद्धशान्तिलगायतका स्थानमा प्रदर्शन गरेको हो ।
‘चोलेन्द्र शमशेरलाई कारबाही गर, धार्मिक हिंसा निम्त्याउने अभिब्यक्ति बन्द गर, विधिको शासन कायम गर, गैरजिम्मेवार ओली सरकार मुर्दाबाद, चिनिया अतिक्रमण स्वीकार्य छैन, विधिसम्मत निर्णय गर्ने कि जबर्जस्ती दुई तिहाइको दम्भले ? नेविसंघ जिन्दाबाद’ लगायतका नारासहित बिर्तामोडको दुर्गा मन्दिर परिसरबाट निकालिएको विरोध प्रदर्शन बजार परिक्रमापछि मुक्तिचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय सदस्य सन्तोष उप्रेतीले यसअघि हत्या आरोप स्वीकार गरेर आजीवन काराबासको सजाय सुनाइएका कोइरालालाई छाड्नुले न्यायिक पद्धति नै मरेको बताए ।

प्रदर्शनपछि बिर्तामोडको कोणसभा

नेपाली कांग्रेस बिर्तामोड नगर समितिका सभापति भोजराज सिटौलाले वर्तमान सरकारमा दुईतिहाइको दम्भ र उन्माद देखिएको बताउँदै सत्ता र पैसाका पछि अल्झिएको कम्युनिष्ट नेतृत्वको सरकार जनअपेक्षा पूरा गर्न असफल भएको टिप्पणी गरे । न्यायालयमाथिको सरकारको हस्तक्षेपले लोकतन्त्रलाई नै कमजोर बनाएको नेता सिटौलाको भनाइ थियो ।
कार्यक्रमका अन्य वक्ताहरुले वर्तमान सरकार भ्रष्टाचारमा डुवेको टिप्पणी गर्दै कम्युनिष्ट नेतृत्वको सरकारले जनअपेक्षा अनुरुप कुनै पनि काम गर्न नसकेको धारणा राखेका थिए । नेविसंघ झापाका सभापति राजेन्द्र उप्रेतीको अध्यक्षतामा सम्पन्न कोणसभाको सञ्चालन पोषराज कटुवालले गरेको प्रवक्ता सञ्जय निरौलाले जानकारी दिएका छन् । त्यस्तै नेपाल विधार्थी संघले धुलाबारीमा गरेको प्रदर्शनमा सयभन्दा बढी नेताकार्यकर्ता सहभागी थिए । प्रदर्शनपछि आयोजित कोणसभामा नेविसंघका निवर्तमान केन्द्रीय सदस्य सन्तोष उप्रेती, नेविसंघ झापाका सभापति राजेन्द्र उप्रेती, जिल्ला प्रवक्ता संजय निरौलालगायतले बोलेका थिए । कोणसभाको संचालन नेविसंघ झापाका सहसचिव सुरज सुवेदीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्