बिर्तामोड ,साउन १४ । झापा बाह्रदशी गाउँपालिकाका दुईजना कोरोना संक्रमितहरु कामका सिलसिलामा बिर्तामोड आएको पुष्टि भएपछि समुदायमा संक्रमण फैलिन सक्ने संभावनालाई मध्यनजर गरी बिर्तामोड नगरपालिकाले निशेधाज्ञा लगाउने तयारी गरेको छ ।

कोरोना भाइरस महामारी रोकथाम तथा राहत व्यवस्थापन नगरस्तरीय समिति बिर्तामोडको आज बसेको बैठकले कोरोना संक्रमण समुदायमा सरेको पुष्टि हुने बित्तिकै निशेधाज्ञा लगाउने निर्णय गरेको हो । बैठकमा समुदायमा संक्रमण सरेको पुष्टि हुने बित्तिकै निशेधाज्ञा लगाउन जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गर्ने निर्णय भएको नगरपालिकाका नगर उपप्रमुख पवित्रा महतारा प्रसाईले बताईन् । बाह्रदशीका संक्रमितहरुको सम्पर्कमा आएकाहरुलाई पहिचान गरी बिर्तामोड नगरपालिकाले कन्ट्याक्ट ट्रेसिङ शुरु गरेको छ । बाह्रदशीका संक्रमितहरुको सम्पर्कमा आएका बिर्तामोडका ७० जनाको नामावली तयार गरी उनीहरुको कन्ट्याक्ट ट्रेसिङ भइरहेको नगरपालिकाका फोकल पर्सन ओम खड्काले बताए । उनले ती आशंकितहरुलाई क्वारेन्टाइनमा राखिएको जानकारी दिए । ‘कन्ट्याक्ट ट्रेसिङको रिपोर्ट पोजिटिभ आउने बित्तिकै निशेधाज्ञा लागू गर्छौ’ उप–प्रमुख प्रसाई भनिन् । त्यस्तै कोरोना संक्रमणप्रति उच्च सतर्कता अपनाउँदै भीडभाड नगर्ने, बेलुका ५ बजेदेखि बजार बन्द गर्ने , आफै संवेदनशील भएर भीड घटाउने, शंकास्पद संक्रमितहरुको पहिचान गर्ने , सर्वसाधारणलाई सचेत गराउनेजस्ता निर्णय गरिएको उप–प्रमुख प्रसाईले बताइन् । बाह्रदशीका नेकपाका नेता तथा निजी क्लिनिक र फार्मेसी संचालन गरेका स्वास्थ्यकर्मीलाई तीन दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरूको यात्रा विवरणबारे सोधखोज गर्दा नेकपाका नेता साउन ५ गते बिर्तामोड आएको खुलेको छ । ती नेताले पार्टी सदस्यताको फायल नेकपाको बिर्तामोड पार्टी कार्यालयमा बुझाएका थिए । आफूसँग भेटघाट गर्नेको विवरण सम्झिएर साध्य नभएको धरानमा उपचाररत ती संक्रमितले बताएका छन् । पार्टी काम र सामाजिक संघसंस्थाको बैठकमा पनि उनको सहभागिता रहेको थियो । बिर्तामोड नगरपालिकामा हालसम्म ८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ६ जना निको भएर घर फर्किसकेका छन् भने एकजना धरान र अर्का विराटनगरको आइशोलेसनमा उपचाररत रहेका छन् ।

१ प्रतिक्रिया

  1. अब पुरै बिर्तामोड शिल हुनु परयो। यसरी पर्खी बसेर हुदैन बिरामी थाहा पाउन 10 12 दिन लाग्छ अनि सम्क्रमन धेरै फैलिन सक्ने हुन्छ तेसैले लोक डाउन हुनु पर्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्