झापा, साउन १४ । नेपालले आर्थिक वर्ष २०७५÷२०७६को तुलनामा आव २०७६÷२०७७ मा पूर्वीनाकाबाट हुने बंगलादेशसँगको व्यापारमा ३९.४३ प्रतिशतले घाटा व्यहोरेको छ । आव २०७६÷२०७७ मा ३ अर्ब ९९ करोड ९३ लाख रुपैयाँ व्यहोरेको हो । आर्थिक वर्ष २०७५÷२०७६ मासमेत व्यापार बंगलादेशकै पक्षमा रहेको थियो । उक्त वर्ष नेपालले २ अर्ब ४१ करोड ४३ लाख ५८ हजार रुपैयाँ घाटा व्यहोरेको मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ ।
आव २०७६÷२०७७ मा नेपालबाट ९५ करोड ४१ लाख ७५ हजार रुपैयाँको निर्यात हँुदा बंगलादेशबाट ४ अर्ब ९५ करोड ३४ लाख ८६ हजार रुपैयाँ बराबरको आयात भएको थियो । आव २०७५÷२०७६मा १ अर्ब ३२ करोड ६१ लाख ४१ हजार रुपैयाँ बराबरको वस्तु बंगलादेश निर्यात भएको थियो । उक्त आवमा बंगलादेशबाट ३ अर्ब ७४ करोड ४ लाख ९९ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको भन्सारको तथ्यांकले देखाउँछ । २०७५÷२०७६ को तुलनामा आव २०७६÷२०७७ मा निर्यातमा २८.०४ प्रतिशतले कमी भएको तथ्यांकले देखाउँछ । यस वर्ष कोरोना कहरका कारण पनि निर्यातमा कमी भएको भन्सार अधिकारी बताउँछन् । आयातभन्दा निर्यात कम भएका कारण त्यो वर्ष नेपालले पूर्वीनाकाबाट बंगलादेशसँग हुने व्यापारमा २ अर्ब ४१ करोड ४३ लाख ५८ हजार रुपैयाँ घाटा व्यहोर्नुपरेको मेची भन्सार प्रमुख धु्रवराज विश्वकर्माको भनाई छ ।
“आव २०७३÷०७४सम्म बंगलादेश मात्रै यस्तो मुलुक थियो, जुन देशसँगको व्यापार बर्सेनी नेपालको पक्षमा हुन्थ्यो । तर, पछिल्लो ४ वर्षको तथ्यांक हेर्ने हो भने व्यापार घाटा बर्सेनी बढ्दो छ” भन्सार प्रमुख विश्वकर्माले भने, “४ वर्ष अघिसम्म कृषिजन्य वस्तुको निर्यात धेरै थियो, अहिले त्यो घटेको छ, गहुँ निर्यात त ठप्प नै छ जसकारण हरेक वर्ष व्यापार घाटा बढ्दो छ ।” बंगलादेशको भन्सार दररेट बढी रहेकाले नेपालमा उत्पादन भएका कृषिजन्य वस्तुले प्रतिस्पर्धा गर्न नसक्दासमेत निर्यात घटेको मेची भन्सारले जनाएको छ । कृषिजन्य वस्तुको उत्पादन र निर्यातमा कमी साथै आयातको तुलनामा निर्यात कम हुनु पनि व्याापार घाटाको कारण रहेको भन्सारप्रमुख विश्वकर्मा बताउँछन् ।
पूर्वीनाकाबाट हुने कुल व्यापारको १५ देखि २० प्रतिशत व्यापार बंगलादेशसँग हुने गरेको छ । मकै, जुट, व्याट्री मुख्यगरी नेपाल आयात हुने गरेको छ । त्यसपछि औषधि गार्मेन्ट, आलु विरामीका लागि प्रयोग हुने प्लाष्टिक कुर्सीसमेत नेपालतर्फ बंगलादेशले निर्यात गर्ने गरेको प्रमुख भन्सार अधिकृत विश्कर्माले बताए । नेपालबाट मुसुरो दाल, फ्रुटी, हरियो तरकारी, जडीबुटीमा चिराइतो निर्यात हुने गरेको छ । बंगलादेशको राजधानी ढाकामा भएको नेपाल – बंगलादेश वाणिज्य सचिव स्तरीय वैकठले नेपालका कृषिजन्य उत्पादनसहित १ सय ८ वटा आइटमलाई ‘ड्यूटी फ्रि’ सुविधा दिने निर्णय गरिए पनि त्यो कार्यान्वयनको तहसम्म पुगेको छैन । बंगलादेशले नेपालका १ सय ८ वस्तुलाई भन्सार सहित सुविधा दिने र नेपालले पनि माछा, आलु चिप्स, रेफ्रीजिरेटर, वेट्री, गार्मेन्ट, प्लाष्टिकजन्य वस्तु, सिमेन्ट, टोवाको, टमटरको सस र विस्कुटलगायत ५० वस्तुमा ‘ड्यूटी फ्रि’ गर्ने विषयमा वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधि तथा बंगलादेशका वाणिज्य मन्त्रालयका प्रतिनिधिले उक्त सुविधाका लागि सम्झौतामा हस्ताक्षर गरे पनि कार्यान्वयन नभएको बताइएको छ ।
बंगलादेशमा अत्यन्तै माग भएको मुसुरो दालको निर्यात प्रत्येक वर्ष आरोलो लागेको कारणसमेत निर्यात घटेको हो । बंगलादेशसंगको व्यापारको आधा बढी हिस्सा मुसुरो दालले ओगटेको छ । खासमा मुसुरोका कारणले मात्रै नेपाल–बंगलादेश व्यापार चलेको छ । जडीवुटीको निर्यात नै कम हुन थालेको छ यसले पनि व्यापारघाटा कम भएको अनुमान नेपाली अधिकारीहरुको छ । बंगलादेश निर्यात हुने नेपाली सामानको संख्या ज्यादै न्यून छ ।
नेपाल र बंगलादेश बीचको औपचारिक व्यापार शुरु भएको दुईदशक बढी भएको छ । २०५४ भदौ १४ देखि नेपालले बंगलादेशसंग औपचारिक व्यापार थालेको हो । काँकडभिट्टा – फूलवारी – बंगलाबन्द मार्ग सञ्चालन भएको १९ वर्षमा २७ अर्व ८४ करोड ६४ लाख २० हजार वढी मुल्यको सामान निर्यात भएको छ भने, १४ अर्व ८४ करोड ३२ लाख ९१ हजार मूल्यको सामान बंगलादेशवाट आयात भएको मेची भन्सार कार्यालयको तथ्यांकले देखाउँछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्