द्रोण अधिकारी,
भद्रपुर । झापाको साविक महेशपुर ६ हाल भद्रपुर ६ मोतियावारीमा २० वर्षयता माटाको मूर्ति बनाएर जीवन गुजारा गर्दै आएका कलाकार विष्णु राजवंशी लगनशील र मेहनती युवा हुन् ।
अभिषेक मूर्ति उद्योगका नाममा उनको पेशाले मेचीदेखि महाकालीसम्म चर्चा कमाएको छ ।

पछिल्ला केही वर्षयता आदिवासी जनजातिको मौलिक पहिचान जोगाउन कलासंस्कृति संरक्षणमा जुटेका छन् उनी । हिन्दु परम्पराका विशेषगरी दशैं, तिहार, छठ, सरस्वती पूजा, विश्वकर्मा पूजा, देवी पूजाका लागि मूर्ति निर्माणमा सकृय राजवंशी विभिन्न जातीय संस्कार संस्कृतिका झलक दिने मूर्ति बनाउन व्यस्त रहने गर्दछन् । उनी पिताको पुख्र्यौली पेशालाई निरन्तरता दिने दोस्रो पुस्ताका मूर्तिकार हुन् । उनको मूर्ति हिन्दु संस्कृतिका विभिन्न पर्वहरुमा बढी खपत हुने कारण परिवार पाल्ने पेशा बन्न सफल छ । दुईजना छोराछोरीलाई स्तरीय शिक्षा दिने, घर परिवार धान्ने आधार रहेको मूर्तिकला राजवंशी परिवारको पहिचान पनि हो ।
माटोसंगै खेलेर पाँच जनाको परिवार पाल्दै आएका राजवंशी जीवनलाई मूर्तिसंगै साट्दै भगवान शिव, पार्वती, काली ,सरस्वती , विश्वकर्मा, लक्ष्मी, भगवती लगायतका विभिन्न देवीदेवताका अतिरिक्त अन्य जुनसुकै प्रकारका मुर्ति वनाउने गर्दछन् । सामाजिक सेवामा समेत सहयोग गर्न पछि नपर्ने राजवंशी स्वदेशी श्रम र माटोको माया गर्ने सामाजिक अगुवा पनि हुन् । उनले समाजमा विचलनका कारण भ्रष्टाचार बढेको ठहर गर्दै भद्रपुरलाई भ्रष्टाचार शुन्य नगरका रूपमा विकास गर्न स्थानीय विकास निर्माणमा कमिशनविहिन अभियान समेत चलाइरहेका छन् । पछिल्लोपटक सघन सहरी विकास कार्यक्रमअन्तर्गत भद्रपुर नगरमा भइरहेको सडक चौडा तथा स्तरीकरणको काम कमिशनमा चल्दा गुणस्तरहिन भइरहेको आवाज उठाउने राजवंशी सामान्य लेखपढ मात्र गरेका व्यक्ति हुन् । उनी युवापुस्तालाई स्वदेशी श्रम र सीपको महत्व बुझाउने अभियानमा समेत रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्