झापा, साउन १५ । नेपाली कांग्रेसको जेष्ठ राजनीतिज्ञ सभामा झापाको एउटै नगरपालिका मेचीनगरबाट पाँच जना व्यक्ति मनोनित भएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले सो सभामा झापाबाट आठ सदस्य मनोनित गरेका छन् । मेचीनगरबाट पुण्यप्रसाद पौडेल, प्रेमराज घिमिरे, याम भण्डारी, तमर राई र प्रेम राई सो सभामा मनोनित भएका हुन् । पौडेल प्रतिबन्धित समयमा कांग्रेसको आन्दोलनमा सरिक व्यक्ति हुन् । उनले पार्टीको महासमिति सदस्यको जिम्मेवारी निर्वाह गरिसकेका छन् । उनले पञ्चायकालमा मेचीनगरमा कांग्रेसको तर्फबाट जनपक्षीय उम्मेदवार बनेर प्रधानपञ्चमा चुनाव समेत लडेका थिए । भण्डारी प्रजातान्त्रिक योद्धा हुन् । उनले प्रतिबन्धित अवस्थामा पार्टी निर्माण र संगठन बिस्तारमा योगदान पुर्याएका छन् । उनी पनि ठूलो राजनीतिक र लाभको पदमा नबसेका त्यागी नेता हुन् । घिमिरे शहीद परिवारका अग्रणी सदस्य हुन् । उनी शहीद विश्वनाथ घिमिरेका आफन्त भएको कांग्रेसले जनाएको छ । तमरले विगतमा महासमिति सदस्यको भूमिका निर्वाह गरेका थिए भने प्रेम मेचीनगर नगरपालिकाका संस्थापक पार्टी सभापति हुन् । उनीहरू दुबै जना पुराना र खासै अवसर नपाएका वफादार कांग्रेस मानिन्छन् । त्यस्तै सभामा मनोनित अम्विकाप्रसाद रिजाल भद्रपुरका बासिन्दा हुन् । उनी कांग्रेसका पुराना र त्यागी नेता हुन् । उनी हालसम्म लाभको पद ग्रहण नगरेका नेता मानिन्छन् । उदयलाल यादव गौरीगञ्ज गाउँपालिकाका बासिन्दा हुन् । गौरीगञ्ज माविका पूर्व प्रधानाध्यापक रहेका यादव कांग्रेसका पुराना कार्यकर्ता हुन् । कृष्णप्रसाद मिश्र अर्जुनधारा नगरपालिकाका बासिन्दा हुन् । उनी जिल्ला विकास समिति झापाका पूर्व सभापति हुन् । उनी पनि त्यागी र पुराना नेता मानिन्छन् । हर्षकुमारी थपलिया हिजो मनोनयनमा पर्ने एक मात्र महिला हुन् । थपलियाको घर चन्द्रगढी हो । उनको परिवार पनि २००७ क्रान्तिदेखि नै कांग्रेसको आन्दोलनमा समर्पित परिवार भएको कांग्रेसले जनाएको छ । हिजो सभापति देउवाले ४७९ जनालाई राजनीतिक सभा सदस्यमा मनोनित गरेको कांग्रेस केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ । यसअघि सभापति देउवाले गत माघ १९ गते काँग्रेस विधानको नियमावली २०७६ को नियम ५० बमोजिम झापाका डिल्लीप्रसाद सिटौलासहित पार्टीका ३० जना अग्रजलाई जेष्ठ राजनीतिज्ञ सभाको सदस्यमा मनोनयन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्