बिर्तामोड, साउन १६ । बाह्रदशीका दुई र इलामका एकजना कोरोना संक्रमित आएर खुलेआम घुमेपछि संभावित संक्रमणको जोखिममा परेको बिर्तामोडमा पहिलोपटक ठूलो मात्रामा कन्ट्याक्ट ट्रेसिङ गरिएको छ ।

संक्रमितहरुको सम्पर्कमा आएकाहरुको खोजी गरी कन्ट्याक्ट ट्रेसिङ गरिएको हो । बाह्रदशीका संक्रमितको सम्पर्कमा आएका ६८ जना र ईलामका संक्रमितको सम्पर्कमा आएका ४८ जना गरी जम्मा १३३ जनाको कन्ट्याक्ट ट्रेसिङ गरिएको बिर्तामोड नगरपालिकाका फोकल पर्सन ओम खड्काले बताए ।तीन दिन लगाएर सो कन्ट्याक्ट ट्रेसिङ गरिएको र परीक्षणका लागि त्यसलाई आज पिसिआर ल्याबमा पठाइएको उनले जानकारी दिए । अबको चार दिनमा त्यसको रिपोर्ट आउने जनाइएको छ ।
इलाममा कार्यरत सशस्त्र प्रहरी निरीक्षकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि बिर्तामोडमा थप त्रास थपिएको छ । इलामका कोरोना संक्रमित सशस्त्र प्रहरी रिपोर्ट नआउँदै बिर्तामोडको पूर्वमा रहेको धर्मकाँटा छेउको घरमा बस्दै आएका थिए । बिहीबार अपरान्ह उनको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चौलागाईंले जानकारी दिए ।झापाको बाहुनडाँगीमा सशस्त्र प्रहरी निरीक्षकको स्वाब संकलन गरिएको थियो ।
त्यस्तै बाह्रदशीका दुई कोरोना संक्रमितहरु पनि बिर्तामोडमा खुलेआम घुमेका थिए । कारोना संक्रमित बाह्रदशी ३ का नेकपाका कार्यकर्ता साउन ५ गते बिर्तामोड आएका थिए । उनी नेकपाको पार्टी कार्यालयसंगै बिर्तामोड नगरपालिका पनि आएका थिए । धरानमा उपचाररत ती संक्रमितले आफूले भेटेको मानिसहरुको बारेमा बताउन साध्य नभएको बताएका छन् । त्यस्तै बाह्रदशीका अर्का संक्रमित निजी क्लिनिक र फार्मेसी संचालन गरेका स्वास्थ्यकर्मी हुन् । उनी पनि बिर्तामोड निकै पटक आएका थिए । ती तीनैजना संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरी सबैलाई होम क्वारेन्टाइनमा राखिएको फोकल पर्सन खड्काले बताए । उता बाह्रदशीका दुई कोरोना संक्रमित व्यक्तिहरुको सम्पर्कमा आएका ४१ जना सबैको रिपोर्ट नेगेटिभ आएको छ । ती संक्रमितहरुको सम्पर्कमा आएका बाह्रदशीका ४१ जनाको कन्ट्याक्ट ट्रेसिङ गरिएको थियो । जसको रिपोर्ट शुक्रबार नेगेटिभ आएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्