बिर्तामोड , साउन १७ । प्रहरी चौकी बिर्ताबजारमा कार्यरत एक महिला प्रहरीलाई कोरोना संक्रमण देखिएको छ ।

२४ वर्षिया ती महिला प्रहरी मेची आँखा अस्पताल क्वारेन्टाइनको सुरक्षार्थ बसेकी थिइन् । उनलाई शनिबार कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जनाएका छन् । साउन १४ गते मेची आँखा अस्पतालको सुरक्षार्थ बसेका ३ जनपद , ६ सशस्त्र प्रहरी र अन्य गरी ३९ जनाको स्वाब संकलन गरी पठाइएको थियो । त्यसमध्ये ती महिला प्रहरीको रिपोर्ट पोजेटिभ आएको बिर्तामोड नगरपालिकाका फोकल पर्सन ओम खड्काले बताए । संक्रमित ती महिला प्रहरीका श्रीमान् पनि प्रहरी हुन् । जो काँकडभिट्टामा कार्यरत छन् । सीमामा कार्यरत ती प्रहरीलाई केही दिन अघिदेखि ज्वरो आएको र शंका लागेर उनकी श्रीमतीलाई परीक्षण गर्दा पोजिटिभ देखिएको जनाइएको छ । उनको श्रीमान्को हालसम्म परीक्षण नभएको र उनलाइृ मेची अस्पतालको आइसोलेशनमा भर्ना गरिएको छ । संक्रमित ती महिला प्रहरीलाई भने धरान पठाइएको फोकल पर्सन खड्काले जानकारी दिए । ज्वरो आएपछि ती महिला प्रहरीले औषधि किन्ने गरेको बिर्ताबजारको एउटा औष्धि पसल सिल गरिएको छ । जिल्लामा जनपद प्रहरीलाई संक्रमण देखिएको यो पहिलो पटक हो । यसअघि झापाका ३५ जना सशस्त्र प्रहरीलाई कोरोना पुष्टि भइसकेको छ ।

१ प्रतिक्रिया

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्