हल्दिबारी ,साउन २० । हल्दिबारी गाउँपालिकाको गाउँसभाका क्रममा विवाद भएको करिव डेढ महिना भइसक्यो । बाटो नामाकरणका विषयमा बढेको विवादले असार १० गतेको गाउँसभा बिथोल्ने काम मात्र गरेन, गाउँपालिका कार्यालयमा तोडफोड समेत भयो । त्यही घटनाका कारण गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेन र उपाध्यक्ष डम्बर गिरीबीच पानी बाराबारको स्थिति सिर्जना भयो । एकअर्काबीच आरोपप्रत्यारोपको दोहोरी लामै चल्यो । तर, अहिले त्यो स्थिति छैन ।

दुवैजनाबीच बोलचाल खुलिसकेको छ । विवादलाई साम्य बनाउने विषयमा पटकपटक छलफल गरिसकेका छन् । त्यति हुँदा समेत सर्वसाधारण जनताको सेवासुविधामा असर नगर्ने गरी गाउँपालिकाको कामकाज अगाडि बढाउन सकेका छैनन् । गाउँसभामा प्रस्तुत बजेट, नीति तथा कार्यक्रम बमोजिमका नयाँ आर्थिक वर्षका कामकाज रोकिएका छन् ।
दुवै पक्षबीचको सम्बन्ध सामान्य बनिसकेपछि गाउँपालिका उपाध्यक्ष गिरीसहितका २३ जना जनप्रतिनिधिहरुले सातौं गाउँसभाको दोस्रो बैठक बोलाउन साउन १२ गते माग गरेका थिए । उनीहरुले गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनलाई लिखित निवेदन बुझाउँदै गाउँसभाको दोस्रो बैठक बोलाउन माग गरेका हुन् । तर, एक साता बितिसक्दा पनि अध्यक्ष लिङदेनले गाउँसभाको बैठक बोलाएका छैनन् । अध्यक्ष लिङदेनले बैठक नबोलाएपछि उपाध्यक्ष गिरीले आफैले बैठक बोलाउने भएका छन् । ‘हामीले लिखित निवेदन दिएर बैठकको माग गरेको ८ दिन भइसक्यो , अध्यक्षले वास्ता गर्नु भएन’ गिरीले भने,‘भोलि बुधबार म आफैले कार्यपालिकाको बैठक बोलाउँदै छु ।’गाउँपालिकाका २९ जना जनप्रतिनिधिमध्ये २३ जनाले गाउँपालिकाको दोस्रो बैठकको माग गरेका हुन् । गाउँसभा सम्पन्न नहुँदा जनताका कामकाज र विकास निर्माण रोकिएको उनले बताए । उता अध्यक्ष लिङदेनले गाउँसभाको पहिलो बैठकको अप्ठ्याराहरु नमिलाइकन अर्को बैठक डाक्न गाह्रो भएको बताए । उनले आफूले उद्घाटन गरेको गाउँसभाको पहिलो बैठकलाई उपाध्यक्ष गिरीले बजेट, नीति तथा कार्यक्रम पारित गराएर समापन गर्दा कानुनी रुपमा जटिलता उत्पन्न भएकाले त्यसलाई नमिलाइकन अर्को बैठक बोलाउन नसकिने स्पष्ट पारेका छन् । यसबाट हल्दिबारी गाउँपालिकाको विवाद तत्कालै समाधान नहुने देखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्