झापा, साउन २० । कोरोना संक्रमित भेटिने क्रम बढेपछि मोरङको रंगेली नगरपालिकाका चारवटा वडा मंगलबारबाट ‘सिल’ गरिएको छ । रंगेली मोरङको पुरानो सदरमुकाम हो । मानिस तथा सवारी साधन आवतजावतमा पूर्णरुपमा रोक लगाउँदै ४, ५, ६ र ७ नम्बर वडा सिल गरिएको हो । समुदायस्तरमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि तीन दिनलाई जोखिमयुक्त मानिएका वडाहरु सिल गरिएको नगरले जनाएको छ ।

नगरपालिकाले बजार क्षेत्र, बजारको पूर्व मधुवनी चौकदेखि सुनवर्षी नगरपालिका पश्चिम, चिसाङ खोला, उत्तरमा निचामारी बक्राह खोला पुल र दक्षिणमा भन्सार गेट क्षेत्रलाई लक्षित गरेर चारवटै वडा सिल गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोमप्रसाद सुवेदीले एउटै परिवारका १४ जनामा कोरोना संक्रमण पुष्टि भएका कारण वडाहरु सिल गर्नु परेको जानकारी दिए । केही दिनअघि रंगेलीको मुख्य बजार क्षेत्रका ७३ वर्षीय वृद्धको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको थियो ।

उनको ब्रेनह्याम्रेजका कारण मृत्यु भएको जनाइएको थियो । तर उनको मृत्युपछि भेला जम्मा भएर दाहसंस्कारदेखि लिएर काजकिरियाका अन्य प्रक्रियामा पनि सहभागी भएका एउटै परिवारका १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको अधिकृत सुवेदीको भनाइ छ । उनकाअनुसार १४ जनाको रिपोर्ट सोमबार पोजेटिभ आएको थियो । अहिले मृतकको घर पुग्ने तथा उनीहरुका परिवारका अन्य सदस्यको पहिचान गर्दै पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने काम भइरहेको जानकारी सुवेदीले दिए । नगरपालिकाकाअनुसार मृतक परिवारका सदस्यहरु भारतको दिल्लीदेखि काठमाडौंबाट रंगेली घर आएका थिए । करिव एक महिनाअघि मृतककी छोरी दिल्लीबाट रंगेली आएकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्