शिवगञ्ज , साउन २२ । झापाको शिवसताक्षी –७ चन्द्रडाँगीस्थित शुक्र माविमा राजनीतिक हस्तक्षेप गर्दै प्रधानाध्यापक राजनारायण चौधरीलाई हटाइएको बिषय अदालत पुगेको छ ।

सम्बन्धित वडाका वडाध्यक्ष नवीन इजमको अध्यक्षतामा रहेको विद्यालय व्यवस्थापन समितिको गत श्रावण ६ गतेको निर्णय अनुसार प्रधानाध्यापक चौधरीलाई सो पदबाट हटाई सोही विद्यालयमा कार्यरत अर्का एक शिक्षकलाई नियुक्त गरेको बिषय उच्च अदालत विराटनगरमा पुगेको हो ।
उच्च अदालत विराटनगरको इलाम इजलासका न्यायाधीस शिवनारायण यादवको एकल इजलासले आज बिहीबार जारी गरेको आदेशमा श्रावण ६ गतेको निर्णय तत्काल कार्यान्वयन नगर्न नगराउन आदेश दिएको छ । निवेदक राजनारायणका तर्फबाट अधिवक्ताद्वय सन्तोषकुमार प्रसाईँ र तिलकसिंह पाण्डेले खगेन्द्र घिमिरेलाई विपक्षी बनाई अदालतमा चौधरी नै प्रधानाध्यापक कायम रहनुपर्ने तर्क पेस गरेको बताइएको छ ।

प्रधानाध्यापक चौधरीलाई विनाकारण फरक राजनीतिक आस्था र विचार राख्ने भएकै आधारमा सो विद्यालयको प्रधानाध्यापक पदबाट हटाएर नयाँ प्रअ नियुक्त गरिएको भन्दै नेपाल शिक्षक संघ र नेपाल विद्यार्थी संघले समेत आपत्ति प्रकट गरेका छन् । संघका शिवसताक्षी नगर अध्यक्ष विष्णु सुब्बाले शिक्षा नियमावलीविपरीत पूर्वाग्रही ढंगबाट एकाएक चौधरीलाई प्रधानाध्यापकको जिम्मेवारीबाट हटाइनु खेदजनक भएको बताएका छन् । पत्रकारहरुसंगको कुराकानीमा शिक्षक संघका जिल्ला नेता कुमार खतिवडाले पनि नेकपासम्बद्ध जनप्रतिनिधिहरुले पदीय मर्यादा र शैक्षिक मूल्य मान्यताको समेत ख्याल नराखी राजनीतिक पूर्वाग्रह राखेर शिवसताक्षी, दमक लगायतका स्थानीय तहमा फरक आस्था र विचार राख्ने प्रधानाध्यापकहरुलाई गलहत्याउने काम गरिरहेको आरोप लगाए ।उनले शिक्षा ऐनको प्रचलित नियमावली विपरीत शिक्षा क्षेत्रमा सत्तापक्षीय जनप्रतिनिधिहरुबाट भईरहेका यस्ता हर्कत तत्काल रोक्न पनि माग गरेका छन् ।
नेपाल विद्यार्थी संघ झापाले समेत सत्तारुढ नेकपाका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरु साझा र निष्पक्ष जिम्मेवारीमा रहनुपर्नेमा ठिक विपरीत अन्य राजनीतिक आस्था र विचार राख्ने प्रधानाध्यापकहरुलाई धमाधम हटाएर शैक्षिक क्षेत्रमा राजनीतिक हस्तक्षेप गरिरहेको भन्दै यसलाई तत्काल सच्याउन माग गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्