हल्दिबारी , साउन २२ । हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेनले साउन २६ गते गाउँसभाको दोस्रो बैठक बोलाएका छन् ।

गाउँसभाको दोस्रो बैठक बोलाउन गाउँपालिका उपाध्यक्ष डम्बर गिरीसहितका जनप्रतिनिधिहरुले पटकपटक माग गरेका थिए । उनीहरुले मंगलबार बैठक बोलाउनका लागि अध्यक्ष लिङदेनलाई तीन दिनको अल्टिमेटम दिएका थिए । त्यसअघि गिरीसहितका २३ जना जनप्रतिनिधिहरुले सातौं गाउँसभाको दोस्रो बैठक बोलाउन साउन १२ गते लिखित माग गरेका थिए । स्थानीय सरकार संचालन ऐनमा बहुमत सदस्यले माग गरेको अबस्थामा बैठक बोलाउनु पर्ने प्रावधान रहेकाले आफूले बैठक राखेको अध्यक्ष लिङदेनले बताए । गाउँसभाको बैठकको तयारीका विषयमा छलफल गर्न भोलि कार्यपालिकाको बैठक बस्ने भएको छ । गत असार १० गते सातौ गाउँसभाका क्रममा बाटोको नामाकरणका विषयमा अध्यक्ष लिङदेन र उपाध्यक्ष गिरीबीच विवाद हँुदा लिङदेनले गाउँसभाको बैठक छोडेर हिडेका थिए । त्यसपछि उपाध्यक्ष गिरीले बहुमत सदस्यका साथ बजेट, नीति तथा कार्यक्रम पारित गराएका थिए । सोही विवाद चर्कदै जाँदा गाउँपालिकाको कामकाज प्रभावित हुन पुगेको छ । नयाँ आर्थिक वर्षको बजेट खर्च हुन सकेको छैन ।अन्ततः दुवै पक्ष मिलेर जानका लागि गाउँसभाको दोस्रो बैठक बोलाउन मन्जुर भएका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्