विराटनगर, साउन २३ । स्थानीय रुपमा विराट अस्पताल (विराट नर्सिङ) होमका वरिष्ठ चिकित्सक र स्वास्थ्यकर्मीहरुमा पहिलोपटक देखिएको कोरोनाको संक्रमण तीव्र रुपमा विराटनगरका अन्य अस्पतालतिर पनि सरेको छ । दुई साताभित्र तरकारी व्यापारी, पान पसले, होटल सञ्चालक र प्रदेशका उच्च पदस्थ पदाधिकारीमा पनि संक्रमण पुष्टि भएको छ ।
परीक्षणको दर बढ्दै जाँदा संक्रमणको क्षेत्रसमेत फराकिलो बन्दै गएको देखिन्छ । विराटनगरमा कोरोना संक्रमणबाट दुईजनाको मृत्यु भएको छ । संक्रमितको संख्या २०० नाघ्न लागेको छ । संक्रमणको बढ्दो ग्राफले ‘प्रदेश १ को राजधानी विराटनगरमा कोरोना संक्रमणको तीव्र कसरी हुन पुग्यो ?’ भन्ने आम रुपमा प्रश्न उठ्न सुरु भएको छ ।

तर, उत्तर सहज नभए पनि विराटनगरमा समुदायस्तरमै कोरोनाको संक्रमण पुगिसकेको निष्कर्षसाथ संक्रमणको ‘चेन ब्रेक’ गर्न भन्दै महानगरले पुनः १५ दिने लकडाउन घोषणा गरेको छ । चिकित्सक र स्वास्थ्यकर्मीमा भएको संक्रमणको स्रोत नखुले पनि अस्पताल हुँदै संक्रमण समुदायसम्म पुगेको तथ्यलाई महानगरलेसमेत स्वीकार गरेको छ ।

खासगरी विराट अस्पतालमा वरिष्ठ चिकित्सक र स्वास्थ्यकर्मीमा देखिएको संक्रमण उनीहरुकै माध्यमबाट गाउँसम्म समेत पुगेको देखिएको छ । मोरङको ग्रामथान गाउँपालिका २ मा युवामा भएको संक्रमणको स्रोत विराटकै एक नर्स थिइन् । संक्रमित युवा भन्छन्, ‘घरमा चाहिएको औषधि लिन गाउँकै क्लिनिक गएको थिएँ अन्यत्र गएकै छैन । पछि क्लिनिककै नर्स संक्रमित भई आइसोलेसनमा गएको थाहा भएपछि मलाई समेत लक्षण देखियो । परीक्षण गरें । पोजेटिभ रिपोर्ट अयाो । अहिले कोसी कोभिड अस्पतालमा उपचाररत छु ।’
मोरङको गोठगाउँबाट बिहीबार मात्र कोरोना जितेर घर फर्किएका पूर्वाञ्चल विश्वविद्यालय डिन कार्यालयका अधिकृत सुजन दाहालले भने, ‘विराटका वरिष्ठ चिकित्सकसँग एउटा कोठामा भेटघाट गरेको थिएँ । पछि उहाँमा लक्षणसहितको कोरोना भएपछि मनमा चिसो पस्यो । अनि परीक्षण गराएको कोरोना देखियो । धन्न परिवारलाई सरेनछ ।’
दाहालमा कोरोनाको लक्षण थिएन । उनी गोठगाउँको आइसोलेसनबाट फर्किएर ‘होम क्वारेन्टिन’ मा छन् ।

विराटमा कार्यरत अर्की स्वास्थ्यकर्मीबाट कोसी अस्पतालका अन्य सहकर्मीमा समेत कोरोना सरेपछि ‘पोस्टनाटल वार्ड’ सिल भयो । कोसीले आफ्ना कर्मचारीलाई अन्यत्र गई काम गर्न रोक लगाइसकेको अस्पतालका मेसु चुमनलाल दासले बताएका छन् । अस्पतालका ओपीडीमा कार्यरत स्वास्थ्यकर्मीमा समेत कोरोना देखिएपछि बन्द गरिएको ओपीडी पुनः सञ्चालनमा आएको छ । विराटबाट सुरु भएको संक्रमणको चेन निकै लामो भएको अन्यमा देखिएको संक्रमणले नै पुष्टि भइसकेको छ । विराटनगर महानगरपालिकाले समुदायस्तरमा कोरोना फैलिएको दाबीसाथ संक्रमणको अवस्था पत्ता लगाउन दैनिक परीक्षण बढाएको छ । जनस्वास्थ्य महाशाखाका अनुसार दैनिक करिब पाँच सयजनाको स्वाब संकलन हुँदै छ । महानगरभित्र संक्रमितको संख्या २०० नाघ्नै लाग्दा संक्रमण अस्पतालहरुमा समेत केन्द्रित भएको देखिन्छ ।

महानगरको जनस्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्की भन्छन्, ‘हामीले परीक्षणको दर बढाएका छौं तर स्वाब दिएर बाहिर हिँड्डुल गर्ने, अरुको सम्पर्कमा जाने र नजिता नआउनेहरु घरमा सेल्फ क्वारेन्टिनमा नबसिदिँदा तीव्र संक्रमणको जोखिम झन् बढेर गएको छ ।’ उनले परीक्षण नतिजा नआउन्जेल घरमै धैर्यसाथ क्वारेन्टिनमा बसिदिन नगरवासीमा अनुरोध गरेका छन् ।
विराटनगरको कोसी, विराट, न्युरो र म्याक्स अस्पतालपछि संक्रमण गोल्डेन अस्पताल र मोरङ सहकारी अस्पतालसम्म पुगेको छ । पछिल्लोपटक स्वास्थ्यकर्मी र कर्मचारीसहित ११ जनामा कोरोना पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङ सहकारीका पाँच, गोल्डेनका तीन र न्युरोका थप तीन जनालाई कोरोना संक्रमण देखिएको छ ।

मोरङ सहकारीका रेडियोलोजी विभागका चिकित्सकमा संक्रमण देखिएको हो । बुधबार मृत्यु भएका विराटनगर ९, गुद्रीका ४५ वर्षीय पुरुषको एक्स–रे गरिएकाले संक्रमणको स्रोत उनी हुनसक्ने अड्कलबाजी गरिएको छ । तर, पुष्टि भने भइसकेको छैन । ती पुरुषको कोसी अस्पतालमा मृत्यु भयो । कन्ट्रयाक ट्रेसिङमार्फत संक्रमितको सम्पर्कमा आएका र अस्पतालमा उपचाररत आठजनाको स्वाब संकलन भएको थियो । अस्पतालका पाँचजनामा कोरोना देखिएको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक विकास अधिकारीले भने, ‘उच्च सतर्कतासाथ ओपीडी सेवा बन्द गरेर निर्मलीकरण गर्ने अभियान गर्दै छौं ।’

गोल्डेन अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीले स्वाब दिएकामा बिहीबार तीनजनामा कोरोना संक्रमण देखिएको थियो । कोरोना देखिनेमा दुईजना चिकित्सक छन् । गोल्डेनले आकस्मिक र डाइलासिस विभाग बन्द गरेको छ । डिस्इन्सफेक्सन र स्यानिटाइज गरेर अस्पतालले सेवा सुरु गर्ने भन्दै सूचना टाँस गरेको छ । न्युरोले पनि आफ्ना सेवा निर्मलीकरण नहुन्जेलका लागि स्थगन गरिएको जनाएको छ । नेपाल चिकित्सक संघ कोसीका अध्यक्ष डा. फरवार्ड सिलवालले सबै अस्पतालको आकस्मिकबाहेक सेवा तत्कालका लागि बन्द गरेर कोरोना संक्रमण चेन ब्रेक गर्नुपर्ने स्थानीय सरकारलाई संस्थागत रुपमै सुझाव दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्