शिवसताक्षी , साउन २४ । अभावै–अभावमा कृषि पेशा अँगालेका किसानलाई पछिल्लो समय रासायनिक मलको समस्याले पिरोलेको छ ।

खेती गर्नकै लागि आकाश हेर्नुपर्ने वाध्यतामा रहेका किसानले पानी परेसँगै रासायनिक मल पाउन नसक्दा किसानमा निराशा छाएको हो । सरकारले समयमै रासायनिक मलको व्यवस्था गर्न नसक्दा कतिपय किसान मल बिना नै खेती गर्न बाध्य छन् भने कतिपय किसान मल कहिले आउँला भन्ने पर्खाइमा छन् । बजारमा छिट्फुट मल पाएपनि महँगो मूल्यमा खरिद गर्नु परेको किसानहरु बताउँछन् ।
कोरोना भाइरसको महामारी रोकथाम गर्न किसानहरुले सरकारले लगाएको लकडाउनलाई साथ दिए । लकडाउन हटिसक्दा पनि कृषकहरुले रासायनिक मल पाउन सकेका छैनन् । शिवसताक्षीका कृषकहरुले कृषि मल समयमा नपाउने र खुल्ला सिमानाबाट आएको मल दोब्बर मूल्यमा किन्नुपर्ने वाध्यता भएपछि सरकारको ध्यानाकर्षण गराउन प्लेकार्ड बोकेर मौन जुलुश निकाले ।
‘किसानले मल बीउ पाउनको लागि आन्दोलन नै गर्नुपर्ने हो सरकार ? बाढीले खेती लग्यो किसानलाई मर्का, समयमा मल नपाएर बाली बिग्रन्छ किसानलाई नै मर्का यो कहिलेसम्म सरकार ? कृषिमा कमिशनको खेल कहिलेसम्म सरकार ? निजी क्षेत्र पोसियो किसानको खुसी खोसियो’ लगायतका प्लेकार्ड बोकी स्थानीय युवाहरुको सक्रियतामा शिवसताक्षी ४ का किसानहरुले विशुवाडुब्बा क्षेत्र परिक्रमा गरेका थिए ।प्लेकार्ड बोकेर उभिएका कृषक पदम राजवंशी भन्छन् ‘सरकारको प्रवृत्ति निको लागेन, धानको वाला लाग्ने बेला भइसक्यो, यो बेलासम्म पनि सरकार मौन रहनु भनेको कृषकहरुप्रति कम उत्तरदायी भएको आभास हुँदैंछ । खेती किसानीलाई बाली धेरै भित्र्याउने आश हुन्छ, के गर्नु मल भने पाइएको छैन।’
निर्वाचनअघि कृषकहरुको बारेमा सकेसम्म गर्छौ भनी वाचा दिएर जितेका स्थानीय जनप्रतिनिधिदेखि लिएर उपल्लो तहसम्मका नेताहरुले कृषकहरुलाई भोट बैंकको रुपमा मात्र देख्दा दुःखी मान्दै अर्को चुनावमा हेरौं भन्छन् अर्का कृषक दिपेश बुढाथोकी । ‘सरकारले कृषि पेशालाई प्राथमिकता दिएको छ भन्छन् तर समयमा मल उपलब्ध गराउन सक्दैनन्‘ स्थानीय जगत राजवंशी भन्छन्, ‘किसानको दुःख कसले बुझिदिने खै ! नेताको आश्वासनले त्यतिकै धान नफल्दो रहेछ अनि सडकमा निस्कनु प¥यो ।’
बाला लाग्ने बेलाको धानमा मल छर्नुपर्ने भएपनि समयमा मल आपूर्ति नहुँदा समस्या खेप्न किसान बाध्य छन् । समयमा रासायनिक मल नपाउँदा किसान चिन्तित बनेका हुन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्