बिर्तामोड , साउन २७ । विश्वव्यापी महामारी कोरोनाका कारण यस वर्ष नेवार समुदायले खासै लाखे नाच नाचेनन् । विगतका वर्षहरुमा टोलटोलमा देखाइने लाखे नाच यस वर्ष झलकको रुपमा मात्र सीमित बन्यो ।

लोप हुन लागेको लाखे नाच जोगाउने अभियान नेवार समुदायले केही वर्षदेखि गर्दै आएका छन् । कोरोना महामारीका कारण यस वर्ष उत्साहपूर्वक टोलटोलमा लाखे नाच नदेखाइएको जातीय संस्था नेवाः देय दवुले जनाएको छ । नेवाः देय दवु बिर्तामोड ९ को आयोजनामा लाखे नाच आज समापन गरिएको छ । साउन १० गतेदेखि सो नाच शुरु गरिएको थियो ।

विगतका वर्षहरुमा बिर्तामोडभरि नै लाखे नाच प्रदर्शन गरेकोमा यस वर्ष बिर्तामोड ९ को भीासेन मन्दिर छेउछाउ मात्र नाच देखाइएको नेवाः देय दवु बिर्तामोड ९ का सचिव योगेश श्रेष्ठले बताए । नेवाः देय दवु बिर्तामोड नगर समितिका कार्यवाहक अध्यक्ष ओमप्रकाश श्रेष्ठको अध्यक्षता एवं प्रदेश १ समितिका सह—संयोजक इन्द्रबहादुर श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिर्तामोड ९ का अध्यक्ष टीका श्रेष्ठ, केशव श्रेष्ठ , सहारा प्रधानलगायतले पर्व तथा जात्राहरूमा नाचिने यो नाचको प्रचलन पछिल्लो समय हराउँदै गएपछि यसलाई ब्युँत्याउन लाग्नु पर्नेमा जोड दिएका थिए । नेवाः देय दवु बिर्तामोड ९ का सहसचिव डम्बर श्रेष्ठले स्वागत गरेको कार्यक्रमको संचालन सचिव योगेश श्रेष्ठले गरेका थिए । कार्यक्रममा लाखे नाचमा भाग लिएका कलाकारहरुलाई सम्मान गरिएको थियो । सो नाचमा १२ जना कलाकारले भाग लिएको जनाइएको छ । खासगरी इन्द्रजात्राको मुख्य आकर्षणका रुपमा देखाइने भए पनि अरु जात्रा पर्वमा पनि यसको प्रचलन रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्