झापा , साउन २८ । समुदायका चार र क्वारेन्टाइनमा बसेका ३ गरी झापामा आज सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मेचीनगर नगरपालिकामा एक चिकित्सकसहित समुदायका चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो । केही दिन अघि मेचीनगर नगरपालिका वडा नं.१० धुलावारी बजारका १५ वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएसँगै समुदायस्तरमा कोरोना संक्रमण फैलिएको आशंका गरिएको थियो । त्यसलगत्तै संक्रमित युवाका परिवारसहित उनीसंग सम्पर्कमा आएका र अन्य शंकाष्पद ब्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ गरी पिसिआर परीक्षणका लागि १ सय २ जनाको थ्रोड स्वावको नमूना संकलन गरिएको थियो । मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाले समुदायस्तरमा शनिवार नमूना संकलन गरी परीक्षणका लागि वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पठाएको थियो । तीमध्ये मेचीनगर १० स्थित आम्दा मेची अस्पताल धुलावारीमा कार्यरत एक चिकित्सकसहित चारजनामा कोरोनाको संक्रमण फेला परेको सामाजिक विकास समिति संयोजक नवीन बरालले जानकारी दिए। उनका अनुसार मेचीनगर नगरपालिका वडा नं.७ का एक पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । उनी नेपाल प्रहरीमा कार्यरत सुरक्षाकर्मी हुन् । अख्तियार अनुसन्धान आयोग कंचनपुरमा कार्यरत ती प्रहरी घर आएका थिए । त्यसैगरी यसअघि संक्रमित देखिएका मेचीनगर नगरपालिका वडा नं.१० का १५ वर्षीय किशोरका परिवारका दुईजनामा संक्रमण देखिएको छ । संक्रमितको परिवारका एक १३ वर्षिय बालक र अर्का महिला गरी दुई जनामा थप संक्रमण पुष्टि भएको छ । समुदायका थप चारजनामा संक्रमण देखिसकेपछि मेचीनगर नगरपालिकालाई लकडाउन गर्ने तयारी भइरहेको बरालले बताए ।
त्यस्तै भद्रपुर नगरपालिकाका तीन जनामा आज संक्रमण पुष्टि भएको छ । वडा नं १, ४ र ८ का पुरुषहरु कलवलगुडी क्वारेन्टाइनमा बसेका थिए । संक्रमितहरु दुईजना साउदी अरब र एकजना भारतबाट फर्केका थिए । योसँगै जिल्लामा कोरोना संक्रमितको सँख्या ४१८ पुगेको छ । त्यसमध्ये ३५५ जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्