दमक, साउन २८ । झापाको दमक र मोरङको पथरीशनिश्चरेमा रहेका भुटानी शरणार्थीलाई खाद्यान्न वितरण गरिएको छ ।

कोरोना कहरका कारण रोजगारी गर्न शिविर बाहिर निस्किन नपाएका शरणार्थीलाई तेस्रो देश पुनर्वास भएका भुटानीहरुको सहयोगमा खाद्यान्न वितरण गरिएको हो ।
अमेरिकामा रहेको ‘लभ द लस्ट’ नामक संस्थाको आर्थिक सहयोगमा दमक नगरपालिका ३ बेलडाँगीस्थित शिविरका एक हजार ६ सय तथा पथरीशनिश्चरे नगरपालिका १० स्थित शिविरमा रहेका ५ सय २२ भुटानी शरणार्थी परिवारलाई राहतस्वरुप एक÷एक बोरा चामल वितरण गरिएको हो । लामो लकडाउनका कारण भुटानी शरणार्थीहरु रोजीरोटीका लागि शिविर बाहिर निस्किन पाएका छैनन् । भुटानी शरणार्थीलाई सहयोग गर्दै आएको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले सन् २०१९ देखि नै रासनलगायत सबै सहयोग कटौती गरेको छ । शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायोग (यूएनएचसीआर) ले दिदै आएको सहयोगहरु पनि भारी मात्रामा कटौती भएपछि अहिले भुटानी शरणार्थीहरु स्थानीय क्षेत्रमा दैनिक ज्याला मजदुरी गरेर आफ्नो परिवार पाल्दै आएका छन् । कोरोना र लकडाउनका कारण शिविर बाहिर निस्किएर काम गर्न नपाएकाले शिविरभित्र भोकमरीको अवस्था सिर्जना हुन सक्ने अवस्था देखेर शिविरभित्रकै अगुवा शरणार्थीहरुको पहलमा सो सहयोग प्राप्त भएको बेलडाँगी शिविरका अगुवा एवं पूर्व शिविर सचिव युवराज साम्पाङ राईले जानकारी दिए ।
अमेरिकाको लभ द लस्टका संस्थापक पूर्ण तामाङले नेपालमा रहेका भुटानी शरणार्थीका लागि २६ लाखभन्दा बढी रकम पठाएका थिए । सो रकमले दमक र पथरी दुवै शिविरका गरी करिब २१ सय परिवारलाई प्रतिपरिवार २५ केजीका दरले एक÷एक बोरा चामल वितरण गरेको खाद्यान्न सहयोग समितिका संयोजक आइतराज गुरुङले जानकारी दिए । सहयोग वितरणका लागि गुरुङको नेतृत्वमा ११ सदस्यीय समिति गठन गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्