मेचीनगर, साउन २८ । मेचीनगर नगरपालिकाले आज राति १२ बजेदेखि भदौ ३ गतेसम्मका लागि लकडाउन गर्ने निर्णय गरेको छ ।

मेचीनगर नगरपालिकामा कोरोनाको संक्रमण समुदायमा फैलिन थालेपछि संक्रमण रोग ऐन २०२० को दफा २ अनुसार एक हप्तालाई लकडाउन गर्ने निर्णय गरिएको नगर प्रमुख विमल आचार्यले बताए ।
लकडाउनमा भोलिदेखि दूध डेरी, सागसब्जी र खाद्यान्नका पसलहरु बिहान ८ देखि १० बजे सम्ममात्र खोल्न पाउने गरी निर्णय भएको छ ।उद्योग, व्यापार, कलकारखाना, होटल, शैक्षिक संस्था पूर्णरुपमा बन्द गर्नुपर्ने निर्णय भएको नगरप्रमुख आचार्यले बताए । औषधि पसल लगायत स्वास्थ्य सेवा नियमित सञ्चालन हुनेछन् । क्वारेन्टाइनको सञ्चालन र व्यवस्थापनलाई निरन्तरता दिनुपर्ने, पिसिआर परीक्षणको दायरा फराकिलो बनाउने लगायतका निर्णय भएको उपप्रमुख मिना पोखरेल उप्रेतीले बताइन् । त्यस्तै आज राति १२ बजेदेखि निजी तथा सार्वजनिक सवारी साधन पूर्णरुपमा बन्द गर्ने निर्णय भएको छ । अत्यावश्यक काममा नगरपालिकाले दिएको पासमा मात्र सवारी साधन चलाउन पाइनेछ । सामाजिक दुरी कायम गरेर कृषि कार्य गर्न पाइनेछ भने धार्मिक, सांस्कृतिक तथा मृत्यु संस्कारमा भीडभाड नगर्ने र मलामी २५ जना भन्दाबढी सहभागी हुन नपाइने भएको छ । यातायातको हकमा नगरभित्र अत्यावश्यक मालबाहक सवारी साधन बाहेक पासको व्यवस्था गरिएको छ । वित्तीय संस्थाहरु सरकारले तोकेको मापदण्ड अनुसार सञ्चालन गर्न पाइने जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्