राजगढ , साउन २८ । बाह्रदशी गाउँपालिकाले आर्थिक वर्ष २०७७–०७८को वजेट , नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

असार १० गते शुरु भएर ३० गते सम्पन्न सातौ गाउँसभाबाट पारित बजेट , नीति तथा कार्यक्रम आज सार्वजनिक गरिएको हो । गाउँपालिकाले चालु आर्थिक वर्षका लागि ५० करोड ३७ लाख ६ हजार ८८७ रुपैयाँको बजेट सार्वजनिक गरेको हो । जसमा चालु खर्चतर्फ ५ करोड ६९ लाख ५३ हजार ७ सय , आर्थिक विकासतर्फ २ करोड ८७ लाख , संस्थागत तथा क्षमता विकासतर्फ ४३ लाख , सामाजिक विकासतर्फ ४ करोड १६ लाख ७७ हजार ८ सय , वन वातावरण तथा विपद् व्यवस्थापनतर्फ २३ लाख ५० हजार , भौतिक पूर्वाधारतर्फ १० करोड २४ लाख ६५ हजार ६६७ , सशर्त अनुदानतर्फ १७ करोड ४८ लाख र ७ वटा वडालाई ९ करोड २४ लाख ५९ हजार ७२० रुपैयाँ बजेट विनियोजन गरिएको छ । गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीको अध्यक्षतामा भएको कार्यक्रमलाई प्रदेश सांसद पूर्णसिंह राजवंशीले उद्घाटन गरेका थिए । कार्यक्रममा संविधानसभा सदस्य हरि राजवंशी, जिल्ला समन्वय समितिका सदस्य महेशलाल राजवंशी , रेडक्रसकर्मी दयानन्द गोस्वामी, नेपाली कांग्रेसका ओमप्रकाश गौतम , गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ज्ञानबहादुर पौडेल, योजना अधिकृत तेजप्रसाद रेग्मी , किसान मूल समूहका प्रेमप्रसाद पौडेल , बाह्रदशी महिला मूल समितिका रेनुका भूर्तेललगायतले मन्तब्य राखेका थिए । गाउँपालिकाका प्रवक्ता शम्भुसिंह राजवंशीले संचालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष रत्नाकुमारी राजवंशीले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्