झापा, साउन ३२ । विराटनगरस्थित आइसोलेसनमा उपचाररत एक व्यक्तिको परिवारलाई नै कोरोना संक्रमण भएको छ । कोरोना पुष्टि भएपछि गत मंगलबार आइसोलेसनमा भर्ना भएका सरकारी कर्मचारीकी आमाको शनिबार राति मृत्यु भएको छ । कार्यालयको कामको सिलसिलमा ओखलढुंगा पुगेर फर्किएका कृषि निर्देशनालय विराटनगरका ती कर्मचारी र उनका ड्राभइरलाई कोरोना पुष्टि भएपछि आइसोलेसनमा राखिएको थियो ।

विराटनगर महानगरपालिका–३ प्रतीकमार्ग निवासी प्रदेश–१ को पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका अधिकृतसमेत रहेका उनको आइसोलेसनमा उपचार चलिरहेकै बेला ७४ वर्षीय आमाको घरमै ज्यान गएको हो । ५६ वर्षीय ती छोरालाई ओखलढुंगाबाट फर्किएपछि गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको थियो । छोरामा कोरोना संक्रमण भएपछि विराटनगर महानगरपालिकाको जनस्वास्थ्य शाखाले परिवारकै स्वाब लिएको थियो । जसमा उनकी श्रीमति र छोरामा आइतवार कोरोना संक्रमण पुष्टि भएको छ ।

उता हिजो ज्यान गुमाएकी ती वृद्धामा भने संक्रमण देखिएको थिएन । तर अन्य दीर्घ रोग पनि देखिएकी ती वृद्धा कोरोनासँग मिल्दाजुल्दा लक्षण भने देखिएका थिए । उनमा खोकी लाग्ने, ज्वरो आउनेसहितका समस्या देखिएको महानगरका कोभिड–१९ फोकल पर्सन हैदर अलीले जानकारी दिएका छन् । महाशाखाका अनुसार ती अधिकृतसहित ड्राइभर र अन्य दुई अधिकृतहरु यही साउन १८ गते कृषि र भेटेरिनरीको अनुगमन निरीक्षणका क्रममा ओखलढुंगा र सोलुखुम्बु पुगेको खुलेको छ । उनीहरुलाई त्यहीँबाट फिरेपछि संक्रमण देखिएको हो । फर्किँदै ज्वरोसहितका समस्या देखिएका उनीहरुले सोमबार कोरोना परीक्षण गराएका थिए । परीक्षण गराएकामध्ये उनी र चालकमा कोरोना देखिएको थियो भने अर्का अधिकृतको रिपोर्ट नेगेटिभ आएको थियो ।

आइसोलेसनमा उपचाररत छोराकी आमाको ज्यान गएपछि अहिले घरमा स्थानीयले निगरानी गरिरहेका छन् । स्थानीयबासी तथा ती अधिकृतका नातेदार कुलमणि बरालले ती अधिकृतका पत्नी र छोरालाई पनि संक्रमण पुष्टि भएको बताए । ‘पत्नी र छोरामा कुनै लक्षण देखिएको छैन’, उनले भने, ‘अहिले हामी यही घर आसपास छौं । लक्षण नदेखिएकाले आमाछोरा ‘होम आइसोलेसन’ मा रहेका छन् ।’ मृत्यु भएकी वृद्धाको शव व्यवस्थापनका लागि नेपाली सेनाको टोली तयार भइसकेको छ । तर शवबहानको व्यवस्थापन नहुँदा समस्या भएको उनले जानकारी दिए । यसबारेमा मोरङका प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरिएको उनले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्