बिर्तामोड, साउन ३२ । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले कम्युनिष्ट नेतृत्वको सरकारले सत्ताको सम्पूर्ण शक्ति आन्तरिक संघर्षमा नै खर्चिएको बताएका छन् ।

नेपाली कांग्रेस झापाको आयोजनामा बिर्तामोडमा सम्पन्न कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै नेता सिटौलाले यस्तो टिप्पणी गरेका हुन् ।
‘कसैलाई ओली बचाउनु छ, कसैलाई ओलीलाई हटाउनु छ’–कम्युनिष्ट पार्टीभित्र देखिएको शक्ति संघर्षको प्रसङ्गमा नेता सिटौलाले भने–‘वर्तमान सरकार सत्ता र शक्तिको नसामा मात्तिएको छ, यो सरकारले कम्युनिष्टकै प्रगतिमा सबै जनताको प्रगति देख्छ । तर जनताको समस्या र गुनासाको सम्बोधन गर्न सक्दैन ।’
प्रेसमाथि संकुचन, न्यायालय, ब्युरोक्रेसी, आयोगहरु, प्रहरी प्रशासन सबैलाई आफ्नो इशारामा चल्ने बनाएर वर्तमान सरकार एकदलीय कम्युनिष्ट सर्वसत्तावाद लाद्न उद्धत रहेको नेता सिटौलाले दावी गरे ।
विदेशी सरकार प्रमुखबाट प्रशिक्षण लिने घटना नेपालमै पहिलो भएको उल्लेख गर्दै उनले चिनिया राष्ट्रपतिमार्फत प्रशिक्षण लिएर वर्तमान सरकारले कुटनीतिक मर्यादा र पञ्चशीलको मान्यताविपरित कार्य गरेको धारणा राखे । नेपाली कांग्रेस १४ औं महाधिवेशनको संघारमा रहेपनि समयमै महाधिवेशन हुन्छ कि हुँदैन भन्ने अन्योल अझै जारी रहेको बताउँदै नेता सिटौलाले नेपाली कांग्रेसका लागि आगामी दिन अझै चुनौतिपूर्ण हुने धारणा राखे । नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटी, भारतेन्दुकुमार मल्लिक, प्रदेश सांसद ओम सरावगी, नेपाली कांग्रेस झापाका पदाधिकारी, सदस्य, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यलगायतका कार्यकर्ताहरुको सहभागिता रहेको कार्यक्रमको सञ्चालन सचिव प्रेम सम्बाहाम्फेले गरेका थिए ।
कार्यक्रममा सहभागीका तर्फबाट कृष्ण हुमागाई, दीपक तामाङ, उमा शिवाकोटी, गोपाल उप्रेती, सीता पौडेल, प्रकाश शिवाकोटी, मनिकलाल माझी, बलराम कार्की, शेरवहादुर थापालगायतले कांग्रेसको चौधौं महाधिवेशनबाट नेतृत्व परिवर्तन गरिनुपर्ने, लामो समय पार्टीमा योगदान दिएका अनुशासित कार्यकर्तालाई स्थान दिइनुपर्ने, कम्युनिष्ट नेतृत्वको सरकारले गरेको भ्रष्टाचार र बेथितिका विरुद्ध प्रतिपक्षी आवाजलाई मजबुत बनाई भण्डाफोर गर्नुपर्ने लगायतका धारणा राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्